राजधानीमा मनाइयो गौरा पर्व

काठमाडौँ । यहाँ बसोबास गर्दै आएका सुदुरपश्चिमबासीले आज गौरा पर्व मनाएका छन् ।
भदौ ७ देखि ९ गतेसम्म चल्ने उक्त पर्वको पहिलो दिन सुदूरपश्चिम तथा मध्यपश्चिमका मानिसको उल्लेख्य उपस्थिति थियो ।
काठमाडौँको टुँडिखेलमा प्रशंसा संरक्षण समूहको आयोजनामा भएको मेलामा सुदूरपश्चिम र कर्णाली प्रदेशको कला तथा सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । गौरा ९पार्वती०को पूजा गरी मनाइने उक्त पर्वमा आत्म शान्तिसँगै मोक्ष्य प्राप्त हुने विश्वास जनमानसमा छ ।
कार्यक्रममा उपस्थित खडकबहादुर सिजापतीले आफ्नो कला संस्कृति र धर्मलाई बचाइ राख्नका निम्ति सबै सुदूरपश्चिम, कर्णाली र मध्यपश्चिमका मानिसलाई लक्षित गरी मनाउने गरिएको बताउनुभयो ।
उहाँले आफूहरूको पहिचान जोगाउनका लागि पनि कला संस्कृतिको संरक्षण गर्दै गौरा पर्व मनाउने गरिएको बताउनुभयो । उहाँले विशेष गरी युवाहरूले यस पर्वलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले यस पर्वलाई सुदूरपश्चिमको सिञ्जा उपत्यकाको सभ्यताका रूपमा जोगाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “देउडा गीतको माध्यमद्वारा सबैको आकर्षण बढाएर सुदूरपश्चिमको संस्कृतिलाई सबैमाझ चिनाउने मुख्य उद्देश्य हो ।”
जुम्ला घर भई हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका शारदा थापाले राजधानीमा समेत आफ्नो पर्व मनाउन पाउँदा खुसी भएको व्यक्त गर्नुभयो ।
उहाँले सुदूरपश्चिममा पाइने विभिन्न प्रकारका खानासँगै आफ्नो कला, संस्कृति र नृत्यसमेत हेर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । उहाँले गौरा पर्व देशभर मनाउनुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्