सुदूरपश्चिमका केही भू–भागमा धुमधामका साथै गौरा पर्व मनाइँदै

कञ्चनपुर । सुदूरपश्चिमको मौलिक पहिचान बोकेको गौरा पर्व सुदूरपश्चिमका केही भू-भागमा धुमधामका साथै मनाइँदै छ । अधिकांश ठाउँमा भने भदौ २१ गते गौरा मनाइने छ ।
सुदूरपश्चिमका पहाडी जिल्लादेखि तराईको कैलाली र कञ्चनपुरमा केही ठाउँमा गौरा मनाइँदै छ । प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान् शिवकी अर्धाङ्गिनी शक्तिस्वरुपा पार्वती (गौरी)लाई गौरा देवीको रुपमा पूजा अर्चना गरिँदै आएको छ । शिवगौरीको स्थानीय लोकरीतिअनुसार पूजाअर्चना गरिने पर्व नै गौरा हो ।
विवाहित नारीले आफ्नो परम्पराअनुसार पुरुषजस्तै यज्ञ पवित्रताका रुपमा दुबधागो लगाउने चलन यस क्षेत्रमा रहेको छ । नारीले पुरुषजस्तै यज्ञ पवित्रताका रुपमा दुबधागो लगाउने र त्यसमै लक्ष्मीको वैदिक मन्त्र जप्ने गरिन्छ । गौराको पूजा अर्चनाले विशेष गरी श्रीमान् तथा घरपरिवारका सदस्यहरु निरोगी, दीर्घायु हुने, परिवारमा सुख समृद्धि हुने जनविश्वास छ ।
दुर्वाष्ठमीको दिन (आज) गौराको महत्वपूर्ण दिन हो । यसलाई अँठेवाली पनि भन्ने गरिन्छ । यो दिन महिलाले सगुन फागसहित गौरादेवीलाई आँगनमा लगेर राख्छन् । सबै महिला जम्मा भई अँठेवाली गायनसँगै बिरुडाले गौराको पूजा गर्दछन् । अँठेवालीकै बिचमा प्रसङ्गअनुसार एउटा धर्मकथा प्रस्तुत गरिन्छ । यो कथा सबै महिलाले सुन्ने सुनाउने गर्दछन् ।
त्यसपछि मङ्गल गीत (सगुन, फाग) सहित तामाको ताउलीलाई गाईको गोबर, दुबो र जौँ तिलले सजाउने परम्परा छ । पाँच अन्न बिरुडा (मास, गहत, गहू, कलौं र गुरुस) तामाको भाँडोमा हाली सुगन फाग गायनसँगै गौरा भित्र्याइन्छ । बिरुडालाई देवीको प्रतीकका रुपमा मानी चन्दन, अक्षता, फूल, धुप, दीप, फललगायत चढाएर पूजा गर्ने गरिन्छ । उक्त बिरुडा भएको ताउलीलाई टाउकोमा राखी सगुन, फाग गायनसँगै महिलाहरूले पानीको मुहानमा लगेर सगुन गायनसँगै पाँच पल्ट धुने प्रचलन छ ।
धारामा साँवाधानको गौरादेवीको मूर्ति बनाएर स्थापना गरी बिरुडा तथा चन्दन, अक्षता, पाती, धुप, दीप, फल आदिले पूजा गरी पुनः फाग गायनसँगै घरमा भित्र्याउने चलन छ । सप्तमीको दिन चेलीबेटीले खेतबाट धान, साँवाधान, कुर्जो आदि हालेर रातो कपडा वा घुम्टीमा बेरेर गौराको मूर्ति बनाइ गौरा घरमा ल्याउँछन् । गौरालाई डालोमा राखेर शुद्ध आसनमा स्थापित गरिन्छ । एउटा काठको पिर्कोमा पहेँलो कपडा बनाएर महेश्वर पनि स्थापना गरिन्छ ।








प्रतिक्रिया राख्नुहोस्