तपाईँ सुन्दै हुनुहुन्छः

जुत्ता–चप्पल बनाउने पुर्ख्यौली पेसा सङ्कटमा

धनकुटा । धनकुटाका दलित समुदायले घरेलु प्रविधिबाट बनाउँदै आएको छालाको जुत्ता–चप्पल बनाउने पुर्ख्यौली पेसा सङ्कटमा पर्दै गएको छ।

रेडिमेट जुत्ता चप्पलसँग प्रतिस्पर्धा गर्न नसक्दा करिब ४ दशक अघि देखिको जुत्ता–चप्पल बनाउने उद्योगहरू अहिले सङ्कटमा परेका हुन्।

कुनै बेला धनकुटा नगरपालिका–७ सङ्गम टोलका दलित जातिले जुत्ता चप्पल बनाउने दर्जन बढी घरेलु उद्योग सञ्चालनमा थिए। अहिले यी उद्योग बन्द भएर केही मात्रै सञ्चालनमा छन्। कुनै बेला ती उद्योगमा जुत्ता चप्पल किन्नेको भीड लाग्थ्यो। तर अहिले थोरै उद्योग हुँदा पनि सुनसान छन्। बजारसँग प्रतिस्पर्धा गर्न नसक्दा समस्या भएको विजय सु सेन्टरका सञ्चालक अजयकुमार बोगटी बताउनु हुन्छ। 

परम्परागत घरेलु प्रविधिबाट धनकुटामा उत्पादन हुने छालाको जुत्ता चप्पलको चर्चा जिल्लाभित्र मात्र नभई देशका अन्य सहरमा समेत हुने गरेको थियो। गुणस्तर र टिकाउको हिसाबले छालाको जुत्ता चप्पल निकै लोकप्रिय थिए। बाहिरबाट आउने रेडिमेट जुत्ता चप्पल सस्तोमा आउने हुँदा स्थानीय स्तरमा हुने उत्पादनलाई प्रभाव पारेको छ। छालाको एक जोर जुत्ता बनाउन कम्तीमा पनि दुई दिन लाग्ने र लागत खर्च धेरै हुने भएकाले महँगो हुने गरेको मोहन सु सेन्टरका सञ्चालक कुमार बोगटी बताउनु हुन्छ।

धनकुटामा हाल यस्ता उद्योग १० ओटा दर्ता भई सञ्चालनमा रहेको र दर्ता नभएका पनि केही उद्योग रहेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ। उद्योग सञ्चालन गर्नेलाई तालिम तथा प्रविधि हस्तान्तरणको कार्यक्रम सञ्चालन गरिरहेको कार्यालय प्रमुख ईश्वर थापा बताउनु हुन्छ।

माग कम भए पनि कतिपयले जेनतेन पुर्ख्यौली पेसा धानिरहेका छन्। बजारमा प्रतिस्पर्धा गर्न नसक्दा यो पेसामा भविष्य सुरक्षित नभएको देखेर युवापुस्ताले यसलाई निरन्तरता दिन सकेका छैनन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button