तपाईँ सुन्दै हुनुहुन्छः

तीन पटक म्याद थपिँदा समेत भेरी अस्पतालको अत्याधुनिक भवन निर्माण अधूरै

नेपालगन्ज । तीन पटक म्याद थपिँदा समेत भेरी अस्पताल नेपालगन्जको नयाँ तथा अत्याधुनिक भवन निर्माण अधूरै छ । 

२५० शय्याको भवन निर्माण पूरा गरेर हस्तान्तरण कार्यमा ढिलाइ हुँदा त्यसको प्रत्यक्ष प्रभाव बिरामीलाई परेको छ । 

भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले अस्पताल भवन जस्तो संवेदनशील संरचनाको निर्माणमा समेत ढिलाइ गरिनु निकै दुःखद भएको बताउनुभयो । तीन/तीन पटकसम्म म्याद थप गरिँदा समेत अझै भवन निर्माण पूरा गर्नेतर्फ निर्माण कम्पनीले ध्यान नदिएको गुनासो उहाँको छ । 

भवन नहुँदाको प्रत्यक्ष असर उपचारका लागि आउने बिरामीलाई परिरहेको उहाँले बताउनुभयो । 

अध्यक्ष शाहका अनुसार २०७८ साल असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी आर्थिक वर्ष २०७४/७५ मा प्रेरा सिएबी भीमेश्वर जेभीले ३२ करोड रुपैयाँको लागतमा ठेक्का पाएको थियो । तर, समय सकिएर तीन पटक म्याद थप भइसक्दा पनि अस्पताल भवनको निर्माण अझै पूरा भएको छैन । पहिलो पटक म्याद थप गरी २०७९ साल भदौ १५ सम्म, फेरि म्याद थप गरी मङ्सिर मसान्तसम्म र पुनः म्याद थप गरी फागुन मसान्तसम्ममा हस्तान्तरण गरिने सम्झौतामा उल्लेख थियो । 

अहिलेसम्म अस्पताल भवन निर्माण गरी हस्तान्तरण हुन नसक्दा त्यसको मार बिरामीले खेपिरहेका छन् । पुरानो भवनमा रहेको आपत्कालीन विभागमा एमआरआई मेसिन जडान गर्नुपर्ने भएकाले नयाँ भवन हस्तान्तरण नगरिँदै आकस्मिक सेवा नयाँ भवनमा सारेर कामचलाउ भइरहेको अस्पतालले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button