तपाईँ सुन्दै हुनुहुन्छः

सेवाग्राहीका लागि पार्किङको व्यवस्थापन आफैँ गर्न बैङ्कहरू तयार 

विराटनगर । विराटनगरको ट्राफिक व्यवस्थापनलाई चुस्तदुस्त बनाउने विराटनगर महानगरपालिकाको अभियानलाई सफल बनाउन बैंकर्सहरुले प्रतिबद्धता जनाएका छन् । 

महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा बैंकर्सहरुसित भएको छलफलमा विराटनगरभित्र सञ्चालित सबै बैङ्कका प्रमुखहरूले महानगरले सुरु गरेको ट्राफिक व्यवस्थापन अभियान सकारात्मक भएकाले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । 

बैंकर्सहरुले तत्कालका लागि बैङ्कमा आउने सेवाग्राहीलाई महानगरले व्यवस्था गरेको पार्किङ स्थलमा सवारी साधन पार्किङ गर्न अनुरोध गर्ने बताउनुभएको छ । 

एनएमवी बैङ्कका प्रदेश प्रमुख समेत रहनुभएका नेपाल बैंकर्स एसोसिएसन कोसी प्रदेशका अध्यक्ष सन्तोषकुमार बुढाथोकीले महानगरले सुरु गरेको ट्राफिक व्यवस्थापनको अभियान अत्यन्तै राम्रो भएको प्रतिक्रिया दिनुभयो ।

उहाँले विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानमा बैङ्कहरूका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । बैङ्कमा आउने सेवाग्राहीलाई तत्कालका लागि पायक पर्ने पार्किङ स्थलमा सवारी साधन राख्न लगाउने उहाँको भनाइ थियो । अबदेखि बैङ्कको कार्यालय सर्दा पार्किङ स्थल भएको ठाउँमा मात्रै सर्नुपर्ने उहाँको धारणा थियो । 

त्यस्तै हिमालयन बैङ्कका प्रदेश प्रमुख अमृत मल्लले तत्कालका लागि बैङ्कहरूले आफ्नै पार्किङ स्थल बनाउन समस्या रहेको बताउनुभयो । 

उहाँले बैङ्क छेउछाउ खाली जमिन भए त्यसलाई बैङ्कहरूले भाडामा लिएर भए पनि पार्किङ स्थल बनाउन सक्ने उल्लेख गर्नुभयो ।

छलफलमा एनआईसी एसिया बैङ्कका प्रमुख हीरा पौडेल, गरिमा विकास बैङ्कका प्रमुख सुजित रेग्मी, माछापुच्छ्रे बैङ्कका उत्सव पराजुली लगायतले महानगरको अभियानलाई सफल बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

महानगरले यसअघि पनि छलफल राखेको थियो । बैङ्कमा आउने सेवाग्राहीका सवारीका लागि पार्किङको व्यवस्थापन गर्न बैङ्कहरूलाई महानगरले पत्राचार समेत गरेको थियो । 

बैङ्कहरूले पार्किङको व्यवस्थापन नगरेपछि महानगरका मेयर नागेश कोइरालाको निर्देशनमा छलफल राखिएको हो । 

भदौ अन्त्यसम्ममा पार्किङ समस्या समाधानको विकल्पसहित पुनः छलफल गरेर टुङ्गो लगाउने छलफलमा सहमति भएको थियो ।

मेयर कोइरालाले विराटनगर महानगर मात्रै नभएर प्रदेशको राजधानी पनि भएकाले व्यवस्थित बनाउनु जरुरी रहेको औँल्याउनुभयो । उहाँले सबैको साथ र सहयोगले मात्रै विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउन सकिने धारणा राख्नुभयो । 

महानगर प्रहरीका राजन पौडेलले महानगरले व्यवस्था गरेको पार्किङ स्थलको बारेमा जानकारी दिनुभएको थियो । 

छलफलमा महानगरका सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, राजस्व महाशाखा प्रमुख सरोज गौतमसहित महानगर क्षेत्रभित्र सञ्चालित बैङ्क तथा वित्तीय संस्थाका प्रमुखहरूको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button