तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा व्यावसायिक चिया खेतीबाट राम्रो आम्दानी

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरमा सुरु भएको व्यवसायी चिया खेतीबाट राम्रो आम्दानी हुन थालेको छ । 

इलाम र झापामा मात्र चिया खेती हुन्छ भन्ने भ्रमलाई चिर्दै भोजपुरमा पनि व्यवसायी चिया खेती थालिएको हो ।

भोजपुरको पश्चिममा रहेको टेम्केमैयुङ गाउँपालिकामा जिल्लाकै पहिलो गरस चिया उद्योग नै सञ्चालनमा आएको छ । उद्योगले राष्ट्रिय चिया तथा कफी खेती बोर्डबाट ट्रेडमार्क समेत पाइसकेको छ । 

विगत १२ वर्ष अघिबाट सञ्चालित गरस चिया उद्योगले राम्रो आम्दानी गर्दे आइरहेको छ । खेतीबाट राम्रो आम्दानीको श्रोत हुने देखेर नै सुरु गरेको सञ्चालक सहरमान गिरीले बताउनुभयो ।  

चिया खेतीको राम्रो सम्भावना देखेसँगै झापा बसाइसराई गइसक्नुभएका उद्योग सञ्चालक गिरी भोजपुर फर्केर व्यवसायी चिया खेती बिस्तारमा लाग्नुभएको थियो । मेहनत गरेमा वार्षिक नौ लाखसम्म आम्दानी गर्न सकिने सञ्चालक गिरीको भनाइ छ । हाल एक सय ३० रोपनी जग्गामा चिया खेती गरेको गिरीले बताउनुभयो । 

व्यवसायी खेती सुरु गरेसँगै उद्योगले रोजगारीको समेत अवसर दिएको छ । चिया गोड्ने, नर्सरी बनाउने र टिप्ने जस्ता कामको सिजनमा अन्य स्थानीयहरूले समेत रोजगार पाउने गरेका छन् । बिहान बेलुका आफ्नो घरको काम भियाएर आफ्नै ठाउँमा काम गरेर पैसा कमाउन पाउँदा घर गर्जो टार्न सहज भएसँगै स्थानीयहरूमा पनि उत्साह थपिएको छ । टेम्केमैयुङ गाउँपालिकामा मात्र जिल्लाको अन्य क्षेत्र तथा गाउँपालिकाहरूमा समेत व्यवसायी चिया खेती थालिएको छ । भोजपुरको दक्षिणमा रहेको आमचोक गाउँपालिकाले सार्वजनिक जग्गामा पर्ने खुला खर्क, चउर, डाँडाकाँडामा व्यावसायिक चिया खेती विस्तार गरी दुर्गम ग्रामीण भेगका कृषकहरूको जीवनस्तर उकास्ने लक्ष्यका साथमा चिया खेती विस्तार कार्यक्रम सुरु गरिएको छ । 

सिङ्गो गाउँपालिकाको आर्थिक उन्नति र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले गाउँपालिकाका सार्वजनिक जग्गामा गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत नै चिया खेती विस्तार गरिएको हो । 

खेर गइरहेका सार्वजनिक खुला खर्क, चउरी डाँडाहरूमा चिया लगाएर व्यावसायिक रूपमा सिङ्गो गाउँपालिकालाई पर्यटन, रोजगारी र अर्थोपार्जन जस्ता क्षेत्रमा बहुआयामिक बनाउने तयारीका साथ खेती विस्तार गरिएको आमचोक गाउँपालिकाले जनाएको छ । 

चियाका लागि उत्तम हावापानी भएकाले पनि चिया खेतीलाई प्रोत्साहन गरी अगाडी बढाउन सकेमा गाउँपालिका भित्रै रोजगारी सिर्जना गर्न सकिने स्थानीयको बुझाई छ । चिया खेतीमा आश्रित बनेर व्यावसायिक आम्दानीको श्रोत र रोजगारीको बाटो सिर्जना हुने भएपछि चिया खेतीमा उत्साह छाएको कृषकहरूको भनाइ छ । 

पर्यटन प्रवर्द्धनसँगै गाउँपालिकाको आर्थिक आय बढाउन, सार्वजनिक जग्गाभरि, खुला खर्क, चउरलाई पनि सुन्दरता थप्ने, रोजगारी सिर्जना गर्न पनि चिया खेतीको विस्तार गरिएको गाउँपालिका अध्यक्ष अशोक राई बताउनुहुन्छ । 

‘वातावरणीय स्वच्छता थप्नुको साथै चिया खेतीबाट सिङ्गो गाउँपालिकालाई बहुआयामिक बनाउन पनि मद्दत पुर्‍याउने हाम्रो लक्ष्य हो ।’ सुरुवाती अवस्थाबाटै गाउँपालिकाका सार्वजनिक खुला जग्गामा चिया खेतीका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डसँग सहकार्य गरेर काम अगाडी बढाइएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button