सुन तस्करीका सम्बन्धमा छानविन गर्न आयोग गठन गर्ने सहमति

काठमाडौँ । संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त दलहरूका बीचमा सुन तस्करीका सम्बन्धमा छानविन गर्न आयोग गठन गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज बसेको बैठकले सुन तस्करीका सम्बन्धमा छानबिन गर्न असोज ५ गते आयोग गठन गर्ने सहमति गरेको हो । आयोगले गठन भएकै दिनदेखि काम सुरु गर्ने त्यसका कार्यविधि पछि छलफल गर्ने निर्णय समेत गरेको छ ।
बैठकपछि दलहरुबीचमा भएको सहमतिबारे जानकारी दिँदै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पटक पटक भएका सुन तस्करीका सम्बन्धमा छानविन गरी प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग ऐन २०२६ बमोजिमको आयोग गठन गर्ने सम्झौता भएको जानकारी दिनुभयो ।
बैठकपछि नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले दलहरुबीच आयोग गठनको सहमति भएको भन्दै छानविन आयोग गठन महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।

प्रमुख दलहरुबीच भएको दुई बुँदे सहमतिमा सुन तस्करीबारे अहिले भएका छानबिनको अध्ययन गर्ने, तस्करी नियन्त्रणका लागि कानुनी र संरचनागत सुधारबारे सिफारिस गर्ने गरी जाँचबुझ आयोग गठन गर्ने उल्लेख छ ।
यस्तै बैठकले साउन २ मोटरसाइकलको ब्रेक सुमा लुकाएर ल्याएको ६० किलोभन्दा बढी सुन तस्करीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान सक्न समय दिएर आगामी असोज ५ गते सरकारले आयोग बनाउने र त्यही दिनदेखि काम थाल्ने गरी सहमति गरेको छ ।
आयोग गठन गर्ने सम्बन्धी आज भएको दुई बुँदे सहमतिपत्रमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी, नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही, जनता समाजबादी पार्टीका प्रमुख सचेतक प्रदीप यादव र जनमत पार्टीका प्रमुख सचेतक अब्दुल खानले हस्ताक्षर गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्