तपाईँ सुन्दै हुनुहुन्छः

राप्तीको भेलले तटबन्ध भत्काउँदै, दर्जन गाउँ उच्च जोखिममा

 नेपालगञ्ज  । बाँकेको राप्ती नदी तटका बस्ती र उर्वर भूमि जोगाउन हरेक बर्ष गरिँदै आएको तटबन्ध बाढीले बर्सेनि बगाउने गरेको छ । नदीले तटबन्ध बगाएर कटान तीव्र बनाउँदै गएपछि राप्तीसोनारी र नरैनापुरका दर्जन गाउँ उच्च जोखिममा छन् ।

वर्षा लागेपछि राप्ती नदीमा बाढी आउने अवस्थालाई मध्यनजर गर्दै अस्थायीरुपमै भएपनि कटानको जोखिम रोक्न एक महिना अगाडि जनताको तटबन्ध कार्यक्रमले संघीय सरकारको बजेटबाट तटबन्ध निर्माण गरेको थियो । तर, तारजाली बिना नै थुपारिएको ढुंगा बगाएर नदी बस्तीतिर सोझिएको छ । खल्लाझगडियाका सन्तकुमार दीक्षितले टालटुले कामले बर्सेनि जोखिम बढेको बताउनुभयो । काम गरेजस्तो गर्ने तर स्थायी समाधान नखोज्दा समस्या बढ्दै गएको दीक्षितको भनाई छ ।

राप्ती नदीले तटबन्ध बगाएर कटान तीब्र पारिरहँदा राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका देउपुरा, पिप्रहवा, खल्लाझगडिया, गेदुवा, गंगापुर, सोनबर्षा खुदरबेटवा, कडुवा लगायतका बस्तीमा जोखिम बढेको छ । अघिल्ला वर्षहरूमा गरिएको तटबन्ध गत बर्ष नै आएको बाढीले भत्काएपछि यस बर्ष फेरि हतार हतारमा तटबन्ध गरिएको थियो । तर, साउनमा आएको बाढीले तटबन्ध बगाइदिएको छ । देउपुराका रामअचल यादवले पक्की तटबन्ध नगरे राप्तीसोनारी र नरैनापुरका दर्जन गाउँ र कृषि योग्य जमिन बाँकी नरहने अवस्था आएको बताउनुभयो ।

जनताको तटबन्ध कार्यक्रमले बाँकेमा नदी नियन्त्रणका लागि आर्थिक बर्ष २०७८/७९ मा १४ करोड र २०७९/८० मा साढे ६ करोड रुपैयाँ खर्च गरेको देखिएको छ । तर, कामको प्रभावकारी अनुगमन नहुँदा लगानी खेर जाने गरेको अवस्था छ । जनताको तटबन्ध कार्यक्रमका इन्जिनियर सूर्यदेव नायकले बजेट ढिला निकासा हुँदा यस बर्ष समयमै काम गर्न नसकिएको बताउनुभयो । ढिला गरी काम सुरु गर्दा समस्या देखिएको नायकको स्वीकारोक्ति छ ।

२०६९ असोज २३ गते आएको बाढीले त्यस क्षेत्रमा २५ सय मिटर तटबन्ध र सडक भत्काएको थियो । त्यसयता पनि निरन्तर कटान हुँदै आएको छ । प्रभावकारी तटबन्धन नहुँदा बर्सेनि जोखिम बढ्दो छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button