तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशमा लैङ्गिक अनुपात बढ्दै गएकोप्रति चिन्ता व्यक्त

जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा महिला तथा पुरुषका बीचमा रहेको विभेदका कारणले लैङ्गिक सन्तुलनमा बिग्रन थालेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

मधेश प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजना र यूएनएफपिएका सहयोगमा जनसङ्ख्या र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ३० वर्ष पुरा भएको सन्दर्भ आज जनकपुरधाममा आयोजित प्रदेश स्तरीय समीक्षा कार्यक्रममा सहभागीहरूले चिन्ता व्यक्त गरेका हुन् ।

सहभागीहरूले महिला तथा पुरुष बीचको विभेदलाई कम गर्ने तथा महिलालाई बढी अवसर प्रदान नगरेसम्म जनसङ्ख्यालाई सन्तुलनमा राख्न चुनौती हुने बताउनुभयो ।

अहिले देशमा १ सय महिलामा ९६ पुरुष भए पनि मधेशमा पुरुषको तुलनामा महिलाको सङ्ख्या कम भएकाले अगामी दिनमा त्यो झनै बढ्न सक्ने विज्ञहरूले औँल्याउनुभयो ।

मधेश प्रदेशका १ सय छोरीमा १ सय १४ जना छोरा भएको जानकारी दिँदै यो अवस्था आउनुमा गर्भमा नै लिङ्गको पहिचान गरी गर्भपतन गराउनु रहेको जानकारी दिइयो ।

कार्यक्रममा संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव कपिल प्रसाद तिम्सिनाले जनसङ्ख्यालाई सन्तुलनमा राख्न आवश्यक भएको बताउँदै सन्तुलित जनसङ्ख्याले नै मुलुकको विकास हुने बताउनुभयो ।

मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव डा. इन्द्रजीत रजकले गुणस्तरीय जनसङ्ख्याको सही व्यवस्थापन गरेर कतिपय मुलुक चाँडै समृद्धिको बाटोमा अग्रसर भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button