तपाईँ सुन्दै हुनुहुन्छः

शीर्ष नेताहरूको बैठक स्थगित, भोलि बिहान ११ बजे बस्ने  

काठमाडौँ । संसद्को गतिरोध अन्त्यका लागि आज बस्ने गरी तय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरूको बैठक स्थगित भएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने भनिएको बैठक भोलि बुधवार बिहान ११ बजे बस्ने गरी स्थगित भएको नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिनुभयो । 

नेकपा एमालेका प्रमुख सचेतक गिरीले बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली स्वास्थ्यका कारण अनुपस्थित भएको र प्रधानमन्त्री तथा सभामुख प्रधानन्यायाधीशको शपथमा सहभागी हुन जानुपर्ने भएकाले बैठक स्थगित भएको बताउनुभयो । 

यस्तै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सञ्चारकर्मीहरूको प्रश्नको जवाफमा हिजो भएको सहमति अनुसार समितिले मस्यौदा तयार पारेको जानकारी दिनुभयो । 

प्रमुख सचेतक लेखकले सुन तस्करीका विषयमा कानुनमा भएका कमी कमजोरीहरूको परिमार्जन, संरचनाहरूको सुधार र सुन प्रकरणका भएको छानविन र अनुसन्धान गर्ने विषयमा अध्ययन गर्न र सरकारलाई सुझाव सहितको प्रतिवेदन बुझाउने गरी प्रतिपक्ष दलको माग अनुसार समिति गठन गर्ने विषयमा कार्यदलले काम गरेको बताउनुभयो । 

यसअघि आजै सुन तस्करी प्रकरणका विषयमा मस्यौदा तयार पार्न गठन गरिएको प्रमुख तीन दलका नेता सम्मिलित मस्यौदा समितिले मस्यौदा तयार पारेको थियो । 

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मस्यौदा समितिको बैठकले शीर्ष नेताहरूको बैठकमा प्रस्तुत गर्ने विषयमा मस्यौदा तयार पारेको हो । 

समितिले तयार पारेको मस्यौदा शीर्ष नेताहरूको बैठकमा बुझाउने र अन्तिम रूप दिने नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो  । 

हिजो बसेको प्रमुख राजनीतिक दलको शीर्ष नेताहरूको बैठकमा सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउन सहमति भएको थियो ।

बैठकले छानबिन समितिको कार्यादेश र संरचनाको मस्यौदा तयार पार्ने जिम्मा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेसका मुख्य सचेतक रमेश लेखक र माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेलाई दिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button