बेनीमा परम्परागत ‘बर्खे नाच’ देखाउन सुरु
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा नेपाल भाषा मंकाखल अन्तरगत ल्याम्हः पूचः हरुले (युवा) बर्खे नाच देखाउन सुरु गरेका छन् ।
नागपञ्चमीको अवसरमा बर्खे नाच अन्तरगत युवाहरू मिलेर बेनीको पुरानो लाखे नाच देखाएका हुन् । लाखे नाचलाई नेवार समुदायको पुरानो संस्कृतिको रुपमा लिने गरिन्छ ।
नेवार संस्कृतिमध्ये बर्खे नाच अन्तर्गत हरेक वर्षको नागपञ्चमीका दिनदेखि सुरु गरेर तिज पर्वसम्म बेनी बजारमा विभिन्न नाचहरू देखाउने प्रचलन छ । नेपाल भाषा मंकाखल अन्तरगत ल्याम्हः पूचहरु मिलेर एक महिने बर्खे नाच सुरु गरेको ल्याम्हः पूचका सदस्य सज्जन श्रेष्ठले बताउनुभयो ।
उहाँले एक महिनाको अवधिमा लाखे नाच, घोडा नाच, गाईजात्रा सपारु, श्रीकृष्ण रथयात्रा, गोरु नाच, रोपाई नाच, धानको बाला नाच देखाउने बताउनुभयो ।
तीन सय वर्ष पुरानो खम्पर (मुखौटो) लगाएर ठूलो मृदंगा, मादल, झ्याली र ढलकीको तालमा लाखे नचाउँदै बजार परिक्रमा गर्ने प्रचलन छ । लाखे नाच हेर्न बजारमा ठूलो भीड लाग्ने गर्दछ ।
नेवा समुदायको पुरानो कलासंस्कृतिको संरक्षण र पुस्तान्तरणका लागि पाका पुस्ताबाट नयाँ पुस्तामा तालिम मार्फत हस्तान्तरण गर्दै युवाहरू मिलेर बजारमा लाखे नाच देखाइएको लयाम्हःपूचका अध्यक्ष जेनेश श्रेष्ठले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्