‘स्थानीय तह सुविधा सम्पन्न भए जनताले सहज रूपमा सेवा पाउँछन्’
वीरगञ्ज । परराष्ट्रमन्त्री एनपी साउदले स्थानीय तहलाई भौतिक रूपमा सुविधा सम्पन्न बनाउन सकिए जनताले पनि सहज रूपमा सेवा पाउने बताउनुभएको छ ।
पर्साको पटेर्वा सुगौली गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास कार्यक्रममा आज मन्त्री साउदले जनताको सबैभन्दा नजिकको सरकार भएकाले स्थानीय तह जति सुविधा सम्पन्न भए जनताले त्यति नै सहज रूपमा सेवा सुविधा पाउने बताउनुभयो ।
स्थानीय तहलाई भौतिक रूपमा सम्पन्न बनाउन सङ्घीय सरकारले सहयोग गर्ने उल्लेख गर्दै मन्त्री साउदले भौतिक पूर्वाधारको विकाससँगै सेवा प्रवाहमा पनि सुधार आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति तथा प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री र नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले स्थानीय सरकारले भौतिक विकाससँगै जनताको जीवनस्तर उकास्ने योजना बनाउनुपर्ने सुझाव दिनुभयो ।
सो अवसरमा गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि जग्गा दान दिनुभएका स्थानीय समाजसेवी मनोज चौधरीलाई मन्त्री साउदले दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
कूल रु छ करोड नौ लाखमा निर्माण हुने प्रशासकीय भवनमा कार्यालयसँगै, सभाहल लगायतका भवन निर्माण हुने गाउँपालिका अध्यक्ष दिनेशकुमार चौधरीले जानकारी दिनुभयो ।
भवन अगामी दुई वर्षमा निर्माण गरी निर्माण कम्पनीले पालिकालाई हस्तान्तरण गर्ने सहमति भएको अध्यक्ष चौधरीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्