तपाईँ सुन्दै हुनुहुन्छः

काँकडभिट्टा माविमा अध्ययनरत विद्यार्थी पढाइकै क्रममा बेहोस हुन थाले

भद्रपुर, झापा । झापाको मेचीनगर–६ स्थित काँकडभिट्टा माविमा अध्ययनरत विद्यार्थी पढाइकै क्रममा बेहोस हुन थालेका छन् ।

केही दिनअघिदेखि काँकडभिट्टा माविमा अध्ययन गर्न आउने विद्यार्थीहरू एक–दुई जना बेहोस हुने क्रम रहेकोमा आज सोमबार मात्रै कक्षा ७ मा अध्ययनरत १३ जना छात्राहरू कक्षा कोठामा नै चिच्याउने, काम्ने, तथा बेहोस भएपछि समस्या देखिएको प्रधानाध्यापक हरि न्यौपानेले बताउनुभयो ।

दिउँसो कक्षा चलिरहेका बेला कक्षा ७ का विद्यार्थी बेहोस भएर ढलेका हुन् । विद्यार्थीहरू चिच्याउने, काम्ने, र बेहोस हुन थालेसँगै पठनपाठनमा समेत समस्या हुन थालेपछि नगरप्रमुख गोपालचन्द्र बुढाथोकी विद्यार्थीको अवस्था बुझ्न र स्वास्थ्य उपचार गर्न विद्यालय पुग्नुभएको थियो । उहाँले नगरका सबै जनप्रतिनिधि र स्वास्थ्यकर्मी विद्यार्थीहरूको साथमा रहेको बताउँदै नअत्ताली आत्मबल उच्च राख्न सुझाउनुभयो ।

ती विद्यार्थीलाई गर्मी र मास हिस्टेरियाको लक्षण देखिएको मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलाले बताउनुभयो । उहाँले अहिले विद्यार्थीको अवस्था सामान्य रहेको जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button