तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाको सरकारी टोली बडिमालिका प्रस्थान, भक्तजन र सुरक्षा निकायद्वारा बिदाई

जुम्ला । जुम्लाको सरकारी टोली भगवती पूजाका लागि बाजुरा स्थित बडिमालिका तर्फ प्रस्थान गरेको छ । सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लास्थित बडिमालीका भगवती मन्दिरको पूजाआजाका लागि जुम्लाको सरकारी टोली सहित सयौँ भक्तजन त्यसतर्फ प्रस्थान गरेको हो । बडिमालिका भगवतीको जुम्ला र बाजुराका भक्तजनले संयुक्त पूजा गर्ने परम्परानुसार हरेक वर्ष नाग पञ्चमीका दिन जुम्लाको टोली बडिमालिका जाने गर्छन् । 

जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा एकराज गिरीको नेतृत्व तथा पुजारी विष्णुप्रसाद उपाध्याय सहित दर्जनौँ भक्तजनको टोली बडिमालिका प्रस्थान गरेको सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले बताउनुभयो । उहाँका अनुसार सोमबार गएको टोली कृष्णजन्मअष्टमीको अघिल्लो दिन अर्थात् १७ दिन लगाएर जुम्ला पुग्ने छ । यस वर्ष बडिमालिका यात्राको भिडियो डकुमेन्ट्री समेत तयार गरिने सहायक प्रजिअ हमालको भनाई छ । 

हरेक वर्ष साउन शुक्लपूर्णिमा नाग पञ्चमीका दिन तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रूपमा बडिमालिकाको पूजा गर्ने प्रचलन अनुसार सोमबार जुम्लाको टोली बडिमालिका गएको जुम्लाका संस्कृतिबिद रमानन्द आचार्यले बताउनुभयो । 

उनका अनुसार नेपाली सेनाको एक टुकुडिले बटुक भैरवनाथ, बाबा चन्दननाथ र दरबार मालिकाको सलामी अर्पण,पाँच वटा सलामी,ब्यान्डबाजा र बिगुल फुकेर पूजाको डोली सहित बडिमालिका हिँडेको टोलीलाई जुम्लाका सयौँ भक्तजन, सरकारी तथा गैससका प्रतिनिधिहरूले फूलमाला अबिर सहित बिदाइ गरेका छन् ।

परम्परादेखि नै हरेक वर्ष नाग पञ्चमीका दिन जुम्लाको सरकारी टोली पूजाका लागि बडिमालिका जाने चलन रहेको छ । डोटी बाजुराको टोली बडिमालिका आउने जुम्लाको टोली बडिमालीका पुगेर संयुक्त पूजा गर्ने प्रचलन छ 

संस्कृत विद् आचार्यका अनुसार जिल्ला प्रशासन कार्यालयको तर्फबाट सुनको टीका, बिनायो, चाँदीको काँगियो, छत्र, मुरुली गरी ५ वटा पूजाका सामानहरू (पेटारो) नामक झोलीमा राखेर बडिमालिका मन्दिरमा पूजाका लागि पठाइएको छ । 

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बडीमालिका जाने टोलीको सुरक्षार्थ सीमावर्ती जिल्ला प्रशासन र प्रहरी कार्यालय सँग समन्वय भएको बताउनुभयो । उहाँले भन्नुभयो,“विगतका केही वर्ष कोरोना कारण सीमित व्यक्ति मात्रै बडिमालीका गए । यस वर्ष भक्तजनहरूको उत्साह निकै बढी देखियो । त्यसैले टोलीको सुरक्षालाई मजबुद बनाइएको छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button