सुदूरपश्चिमको मौलिक पहिचान बोक्ने सबैभन्दा ठूलो पर्व ‘गौरा’ आजबाट विधिवत् सुरु

कञ्चनपुर । सुदूरपश्चिमको मौलिक पहिचान बोक्ने सबैभन्दा ठूलो पर्व ‘गौरा’ आजबाट विधिवत् सुरु भएको छ। गौराको सुरुवात हरेक वर्ष भाद्र शुक्ल पक्ष पञ्चमीमा हुन्छ। आजको दिनलाई ‘बिरुडा पञ्चमी’ पनि भनिन्छ ।
आजको दिनमा व्रतालुको घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको शुरुवात गरिन्छ। तामा–पित्तलको भाँडोलाई गाईको गोबरले लिपेर गोबर, दुबो, अक्षताले सिँगारी त्यसभित्र पञ्चअन्न गहुँ, मास, गहत, गोरस र कलउँको बिरुडा बनाउने प्रचलन छ। बिरुडालाई ‘गौरीको प्रसाद’का रुपमा लिइन्छ। पूजाआजाका क्रममा बिरुडालाई प्रसाद र अक्षताका रुपमा प्रयोग गर्ने प्रचलन छ।
आधिकारिक रुपमा गौरा पर्वको सुरुवात आजबाट अर्थात् भाद्र शुक्ल पञ्चमीबाट हुने भएपनि आंशिक रुपमा जनैपूर्णिमाका दिनबाटै सुरु भइसकेको हुन्छ। ‘गौराको विधिवत् सुरुवात बिरुणा पञ्चमीबाटै हुने भएकोले विरुडा पञ्चमीमा भिजाएर गौराको विधिवत् शुरुवात गरिन्छ। यसरी भिजाएका बिरुडालाई षष्ठीका दिन पखाल्ने प्रचलन रहेको पाइन्छ।
सप्तमी र अष्टमीका दुई दिन गौराका विशेष दिनहरू हुन्। सप्तमीका दिन नजिकैको धान खेतमा गएर धानसँगै उम्रिएको साउँ ९धानजस्तै देखिने घाँस०बाट गौराको प्रतिमा बनाई बाजागाजाका साथमा ‘गौराघर’मा भित्र्याइन्छ। यसवर्ष षष्ठी र सप्तमी एकैदिन परेकाले प्रतिमा भित्र्याउने काम बुधबार हुनेछ।

गौरा भित्र्याइसकेको गौराको वास्तविक रमझम शुरु हुन्छ। यी सबै कामहरू गर्दा मङ्गल गानका रुपमा ‘मांगल’ (फाग) गीत गाउने प्रचलन रही आएको छ। गौराघरमा भित्र्याएपछि शुद्ध माटोले लिपपोत गरेको ठाउँमा निङ्गालोबाट बनेको डालोमा पूजाआजा र फाँग गीत गाउँदै राखिन्छ।
अष्टमीको दिनलाई ‘गौराष्टमी’ भनेर बुझिन्छ। गौराष्टमीका दिन पूजाआजा गर्दै, मंगलगानका साथमा नचाइन्छ। त्यसै क्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ, त्यहाँ विभिन्न अठवाली गीत, चैत, धमारी, राजा महाराजाका वीरगाथाहरुका साथमा नचाउने गरिन्छ। यसै दिनदेखि ठाउँ ठाउँमा देउडा समेत खेलिने प्रचलन छ। हिजोआज भने गौराका अरू दिनहरूमा पनि देउडा खेल्ने गरिएको पाइन्छ।
गौरालाई यस क्षेत्रमा गौरा बाहेक, गमरा, गोःरा, गवरा आदी नामले पनि सम्बोधन गरिन्छ।








प्रतिक्रिया राख्नुहोस्