तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा भत्किएको बाटो निर्माण गर्दै नेपाली सेना

बाजुरा । बाजुरामा बर्षादका कारण विभिन्न ठाउँमा भत्किएको सडक तथा बाटोहरू निर्माणमा नेपाली सेना सक्रिय भएको छ । वर्षादले बाटोहरू भत्किएर दैनिक उपभोग्य सामग्री ओसारपसारमा स्थानीय नागरिकलाई समस्या भएकाले अवरुद्ध सडक तथा बाटोहरू खुलाउन नेपाली सेना सक्रियताका साथ लागेको दुर्गाभञ्जन गुल्मका गुल्मपति तथा मेजर धर्मेन्द्रबहादुर सिंहले बताउनु भयो ।

गुल्मपती सिंहको नेतृत्वमा ४० जना सेनाको टोली बाढी पहिरोले भत्काएको बाटो तथा सडक मर्मत कार्यमा जुटेको हो । बडीमालिका नगरपालिका ८ मा रहेको मार्तडी त्रिवेणी सडकको नेपाली सेनाले मर्मत कार्य सम्पन्न गरिसकेको छ । मार्तडी कोल्टी सडक खण्ड अन्तर्गत बडिमालिका नगरपालिका ७जिल्ली स्थित पहिरोमा आवतजावतका लागि निकै समस्या भएपछि नेपाली सेना लगायत स्थानीयले जनश्रमदान अभियान नै सुरु गरेका छन् ।

जिल्लाका जुनसुकै ठाउँमा सडक अवरुद्ध भएमा सडक खुलाउनका लागि सेना तयारी अवस्थामा रहेको  गुल्मपती धर्मेन्द्र बहादुर सिंहले बताउनु भयो । वर्षादको बेला हरेक जिल्लामा विपद् व्यवस्थापन तथा क्षति न्युनिकरणका लागि सेनाले सधैँ टोली तयारी अवस्थामा राख्ने गरिएको छ ।

बाजुराको सदरमुकाम मार्तडीमा रहेको दुर्गाभञ्जन गुल्मले पनि सधैँ सैनिक टोली विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा राख्ने गरेको जनाएको छ। बाटो तथा सडक मर्मत कार्यमा नेपाली सेनाले सक्रियता जनाए सँगै स्थानीयले पनि उक्त कार्यमा सहयोग गरिरहेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button