तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वप्रधानमन्त्रीहरू नेपाल र भट्टराईसँग सिआइबीले लियो बयान

काठमाण्डौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवास जग्गा प्रकरणका विषयमा पूर्व प्रधानमन्त्रीहरू डा. बाबुराम भट्टराई र माधवकुमार नेपालसँग बयान लिएको छ ।


पूर्व प्रधानमन्त्रीद्वय डा.भट्टराई र नेपालसँग ललिता निवास जग्गा प्रकरणका विषयमा आज बयान लिएको सिआइबी प्रहरी प्रवक्ता एवम् प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

सिआइबीले दुवै पूर्व प्रधानमन्त्रीहरूसँग घरमा नै गएर बयान लिएको थियो । सिआइबी प्रवक्ता अधिकारीका अनुसार ललिता निवास प्रकरणमा सिआइबीले आज नै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईले ट्विट गर्दै आफ्नो पालामा मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका सम्बन्धमा उठेका प्रश्नहरूको सत्यतथ्य जानकारी सीआइबीलाई दिएर आफूले आफ्नो कर्तव्य निर्वाह गरेको उल्लेख गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईले आफ्नो ट्वीटमा ललिता प्रकरण सफल टुङ्गोमा पुगे देशका सबै तहका भ्रष्टाचार  अनियमितता अन्त्य गर्दै सुशासनको प्रत्याभूति दिलाउने प्रस्थानविन्दू बन्ने बताउनुभएको छ ।

ललिता निवासको सरकारी जग्गामा नक्कली मोही खडा गरेर व्यक्तिका नाममा दर्ता गर्ने प्रकरणमा सिआइबीले अनुसन्धान गरिरहेको छ ।

सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पिरामिडको माथिल्लो संरचनामा रहेकाहरूलाई पनि अनुसन्धानका दायरामा ल्याउन आदेश दिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button