नवलपरासीमा आत्महत्याको दर घट्दो, पुरुषको सङ्ख्या बढी

नवलपरासी । पश्चिम् नवलपरासीमा अघिल्ला वर्षहरूको तुलनामा आत्महत्याको दर घट्दो देखिएको छ । पारिवारिक बिमेल, बेरोजगारी, सामाजिक परिस्थिति, वैदेशिक रोजगारी लगायत विविध कारणले आत्महत्या गरेको देखिन्छ । जिल्लामा अहिले सम्मको तथ्याङ्क हेर्ने हो भने आत्महत्या गर्नेमा महिलाको सङ्ख्या भन्दा पुरुषको सङ्ख्या नै बढी देखिएको छ ।
जिल्लामा पछिल्लो त्रिवर्षीय तथ्याङ्कलाई हेर्दा ०७७/७८ मा ७४ जना पुरुष र ३९ जना महिला गरी ११३ जनाले आत्महत्या गरेका छन् । आर्थिक बर्ष ०७८/७९ मा ७२ जना पुरुष र २९ जना महिलाहरू गरि १०१ जनाले आत्महत्या गरेका छन् । त्यसै गरी ०७९/८० मा ४९ जना पुरुष र ३७ जना महिला गरी ८६ जनाले आत्महत्या गरेको तथ्याङ्क रहेको छ । ६० बर्ष उमेर समूहकाले समेत आत्महत्या गरिरहेको तथ्याङ्कले देखाउँछ ।
उनीहरूले खेतबारीमा प्रयोग गर्ने विष सेवन गरी, नदिमा हामफालेर र झुन्डिएर आत्महत्या गरेको डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभयो । यी तिन वर्षको अवस्थालाई तुलना गर्दा आत्महत्याको दर कम देखिए पनि यो तथ्याङ्क डर लाग्दो नै रहेको प्रहरीले जनाएको छ । आत्महत्या न्युनिकरणका लागि जिल्ला प्रहरी कार्यालयले समुदाय स्तर,विद्यालय र विभिन्न ठाउँहरूमा सचेतनामुलक कार्यक्रम गरेको डिएसपी पाण्डेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्