तपाईँ सुन्दै हुनुहुन्छः

बक्सर घिमिरेलाई  ‘प्रोफेसनलकिक बक्सिङ हिट ५२ च्याम्पियनसीप’को उपाधि 

काठमाडौँ । नेपालका अन्तर्राष्ट्रिय किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानको टोकियोमा आयोजित ‘प्रोफेसनल किक बक्सिङ हिट ५२ च्याम्पियनसीप’को उपाधि जितेका छन् । 

शनिवार दक्षिण कोरियाली खेलाडी चाङ ओन याङलाई हराउँदै उनी च्याम्पियन बनेका हुन् । 

‘हिमालय चितुवा’का रूपमा विश्व प्रसिद्ध घिमिरेले दक्षिण कोरियाली खेलाडी याङलाई किक बक्सिङ प्रतियोगितामा नकआउट गरेका थिए । सो प्रतियोगितामा भिड्ने घिमिरे पहिलो नेपाली बक्सर हुन । 

प्रतियोगिताको पुरुष स्पर्धामा घिमिरेले एक मिनेट ५५ सेकेन्डमै प्रतिद्वन्द्वी याङलाई रिङमा ढालेका थिए । जापानमा रहेर किक बक्सिङको व्यावसायिक खेल खेल्दै आएका बक्सर घिमिरेले बक्सिङ हिट प्रतियोगिताका १३ खेल जितिसकेका छन् । उनले तीन पटक टाइटल म्याचको उपाधि नित्न सफल भएका छन् । 

घिमिरेले हालसम्म जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्ड, थाइल्याण्डलगायत देशका बक्सरलाई पराजित गरिसकेका छन् । उनी अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा नेपालको पहिचान बनाउन सफल भएका छन् । 

घिमिरे जापानको नागोयामा  सहरमा आफ्ना पिता पूर्व अन्तर्राष्ट्रिय किक बक्सर तथा फुल कन्ट्याक कराँते खेलाडी देव घिमिरेको विशेष प्रशिक्षणमा रहँदै आएका छन् । 

काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२  गुर्जुधारा बलम्बूवासी घिमिरेको परिवार केही वर्षदेखि जापानको नागोयामा बस्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button