पोर्चुगलमा दुई दिनमा दुई नेपाली युवाको निधन
लिस्बन (पोर्चुगल) । युरोपेली मुलुक पोर्चुगलमा दुई दिनमा दुई नेपाली युवाको निधन भएको छ । एक युवाले चार तलामाथिबाट हाम फालेर आत्महत्या गरेका छन् भने अर्का नेपाली युवाको राति सुतेकै अवस्थामा निधन भएको छ ।
राजधानी लिस्बनस्थित सेतेरियोस बस्दै आएका झापाको गौरादह नगरपालिका–३ का ३१ वर्षीय अजय थापाले बिहीबार साँझ चार तलामाथि घरको झ्यालबाट हाम फालेर आत्महत्या गरेको गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष उमेश खड्काले राससलाई जानकारी दिनुभयो । थापाले के कारणले हाम फालेर आत्महत्या गरेका हुन् भन्ने विषय भने खुलिनसकेको अध्यक्ष खड्काले बताउनुभयो ।
वैदेशिक रोजगारीका सिलसिलामा छ वर्षअघि पोर्चुगल आएका थापा पछिल्लो समय खाना डेलिभरी गर्ने कम्पनी उबर इटमा काम गर्दै आएका थिए । परिवारसहित पोर्चुगल बस्दै आएका थापाको शव परीक्षणका लागि लिस्बनस्थित एक अस्पतालको शव गृहमा राखिएको उहाँले बताउनुभयो ।
यस्तै वैदेशिक रोजगारीका सिलसिलामा पाँच वर्षअघि पोर्चुगल आएका बागलुङ जिल्ला बडिगाड गाउँपालिका–१ का २८ वर्षीय टेकबहादुर दर्लामी मगरको सुतेकै अवस्थामा मृत्यु भएको छ । बेजास्थित जम्बुजिरा बस्दै आएका दर्लामी मगरको बुधवार राति सुतेकै अवस्थामा निधन भएको सङ्घका अध्यक्ष खड्काले जानकारी दिनुभयो ।
खड्काका अनुसार राति खाना खाएर सुतेका उनी बिहान नउठेपछि उनका साथीहरू उठाउन जाँदा दर्लामी मगर ओछ्यानमै मृतावस्थामा भेटिएका थिए । सकुशल सुतेका साथी मृत भेटिएपछि उनीहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए । मृतक दर्लामी मगर त्यहाँस्थित मारभिल्ला नामक कृषि कम्पनीमा कार्यरत थिए । उनको शव परीक्षणका लागि बेजा अस्पतालको शव गृहमा राखिएको उहाँले बताउनुभयो । दर्लामी मगरको वृद्ध बुवाआमा र श्रीमती नेपालमा रहेका छन् ।
निधन भएका दुवै नेपालीको शव नेपाल पठाउन मृतकका परिवारले आग्रह गरेका कारण सो विषयमा छलफल र आवश्यक तयारी भइरहेको खड्काले बताउनुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्