तपाईँ सुन्दै हुनुहुन्छः

सामुदायिक विद्युतीकरणलाई थप विस्तार गर्छौँ : मन्त्री बस्नेत

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकार सामुदायिक ग्रामीण विद्युतीकरण अभियानलाई थप व्यवस्थित गर्न तयार रहेको बताउनुभएको छ ।

दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडमार्फत विद्युतीकरणको १९ औँ वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा उहाँले जनतालाई विकास अभियानको साझेदार बनाउने पद्धतिलाई थप विस्तार गरिने विश्वास दिलाउनुभयो ।

मन्त्री बस्नेतले सामुदायिक विद्युतीकरणको महत्त्वपूर्ण भाग सहकारी भएको र यसले गरेका काम कदरयोग्य रहेको भन्दै सामुदायिक विद्युतीकरणको प्रशंसा गर्नुभयो । जनताले चाहँदा व्यवस्था बदलिएको र त्यसैगरी आर्थिक, सामाजिक रुपान्तरणको अवस्था बदलिन पनि सक्ने धारणा उहाँको छ ।

सामुदायिक अभियानमा अप्ठ्यारो पार्ने अवस्था हुँदैन भन्दै उहाँले सरकार सहयोग गर्न तयार रहेको र विकासमा जनताको साझेदारी, आर्थिक, सामाजिक रूपान्तरणमा हिस्सेदारी मुख्य केन्द्र रहेकामा जोड दिनुभयो ।

बागमती प्रदेशसभा सदस्य मधुसुदन पौडेलले सामुदायिक विद्युतीकरणमा मन्त्री फेरिएपछि आइरहने समस्या समाधान हुनुपर्ने बताउनुभयो । उहाँले नियमावलीमा समावेश गरेर नीतिगत रूपमै सहकारीमार्फत सञ्चालित सामुदायिक विद्युतीकरणलाई सहज हुने व्यवस्था राखिनुपर्नेमा जोड दिनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुँयालले प्रत्येक नागरिकलाई खुसी बनाएर सेवा प्रदान गर्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

नेपाली कांग्रेस बागमती प्रदेशका सहमहामन्त्री ऋषिराम घिमिरेले जनतालाई सेवा दिने उद्देश्यले सहकारी अभियान सुरु भएको बताउनुभयो ।

सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घका महासचिव गोविन्द पौडेलले सामुदायिक विद्युतीकरणको अभियानमा जनतालाई सहभागी बनाएर विद्युतीकरणका काम गर्नुपर्ने बताउनुभयो ।

कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले ललितपुरको सात दोबाटोमा भएको विकास र सेवालाई हेरेर दक्षिण ललितपुरलाई तुलना गर्न नहुने भन्दै सुविधा सम्पन्न स्थानीय तह र प्राकृतिक प्रकोपले बर्सेनि समस्या थपिरहने पालिकालाई एउटै रूपमा हेरिन नहुने बताउनुभयो ।

संस्थाका पूर्व अध्यक्ष रामकृष्ण हुमागाईँले २०५७ साउन १७ गते सहकारी स्थापना हुँदा द्वन्द्वको चरम अवस्था रहेको स्मरण गर्दै सरकार र समुदायको आधा–आधा लगानीमा विद्युतीकरणको काम सञ्चालन भएको बताउनुभयो ।

संस्थाका अध्यक्ष गोविन्दप्रसाद बजगाईँले सामुदायिक विद्युतीकरणले सुधारिएको चुलो, वायो ग्यासको प्रवर्द्धन लगायतमा प्रभावकारी काम भएको बताउनुभयो ।

विसं २०६१ भदौ २ गतेदेखि तत्कालीन देवीचौर गाउँ विकास समितिमा सहकारीमार्फत विद्युतीकरणको ग्राहक सेवा सुरु भएको थियो । देवीचौर अहिले गोदावरी नगरपालिकाको वडा नं ७ भएको छ भने बाँकी बागमती, महाँकाल र कोञ्ज्योसोम गाउँपालिकाको वडामा परिणत भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button