तपाईँ सुन्दै हुनुहुन्छः

उपप्रधानमन्त्री श्रेष्ठद्वारा पालिका स्तरीय अस्पतालको उद्घाटन

गोरखा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश) ले गोरखाको अजिरकोट गाउँपालिकाको पालिका स्तरीय आधारभूत अस्पतालको आज उद्घाटन गर्नुभएको छ ।

अजिरकोट गाउँपालिका–३, स्थित भच्चेकमा रहेको भच्चेक आधारभूत अस्पतालको एक कार्यक्रमबीच श्रेष्ठले उद्घाटन गर्नुभएको हो । विस २०३४ सालमा स्थापना भएको स्वास्थ्य चौकीलाई पाँच शय्यामा स्तरोन्नति गरी पालिका स्तरीय अस्पतालको रुपमा विकास गरी सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो ।

अस्पतालबाट चिकित्सकीय सेवा दिन सुरु भइसकेको उहाँले बताउनुभयो । चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी गरी १८ जनाको दरबन्दी रहेको अस्पतालमा आवश्यक कर्मचारी व्यवस्थापनका लागि पालिकाले प्रक्रिया अघि बढाइसकेको अध्यक्ष देवकोटाको भनाइ छ ।

पालिकाले आफ्नै पहलमा उक्त अस्पतालबाट गत आर्थिक वर्ष साउनदेखि नै २४ चौबिसै घण्टा आकस्मिक स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको उहाँले बताउनुभयो ।

भच्चेक आधारभूत अस्पतालबाट अजिरकोट गाउँपालिकासहित सिरानचोक, बारपाक सुलिकोट गाउँपालिका र लमजुङको दूधपोखरी गाउँपालिकाका बासिन्दालाई स्वास्थ्य उपचार सेवा लिन सहज हुने गाउँपालिकाकी उपाध्यक्ष अनिता भुजेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button