तपाईँ सुन्दै हुनुहुन्छः

‘निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागितामा हुनुपर्छ’

काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा महिलाको सहभागिता प्रतिशतमा मात्र नभई अर्थपूर्ण हुनुपर्नेमा जोड दिनुभएको छ ।

file photo

राष्ट्रिय महिला आयोगद्वारा आयोजित ‘नेपालमा महिलाको अवस्था’ विषयक पुस्तक विमोचन समारोहमा उहाँले तथ्याङ्क विश्लेषण गरेर मात्र महिलाको सहभागिता निर्क्योल गर्न नहुने बताउँदै अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले निर्वाचनमा महिलाको सहभागितालाई पुस्तकले थप विश्लेषण गरेको बताउँदै निर्वाचनसम्बन्धी आधिकारिक तथ्य आयोगसँग लिन आग्रह समेत गर्नुभयो । निर्वाचनमा महिलाको सहभागिता अभिवृद्धि गर्न पहल गरिरहेको र थप मजबुत बनाउन महिला आयोगसँग सहकार्य र समन्वय गरी अघि बढ्न निर्वाचन आयोग तयार रहेको उहाँले बताउनुभयो ।

समारोहमा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले नेपालमा महिलाको अवस्थालाई एकीकृत ढङ्गले पुस्तकमा प्रस्तुत गरिएको बताउनुभयो । विशेष गरी अघिल्लो वर्ष सम्पन्न तीनै तहको निर्वाचनमा भएको महिला सहभागिता र प्रतिनिधित्वलाई पुस्तकमा विशेष जोड दिएको उहाँले जानकारी दिनुभयो ।

महिलाको क्षेत्रमा अध्ययन गर्न, योजना तर्जुमा गर्न, परियोजना निर्माण गर्न र पैरवी गर्न समेत पुस्तक उपयोगी हुने उहाँको भनाइ छ ।

नेपालमा महिलाको वर्तमान अवस्थालाई उजागर गर्ने उद्देश्यले आयोगले गत वर्षदेखि “नेपालमा महिलाको अवस्था” नामक पुस्तक प्रकाशन गर्न थालेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button