‘फाप्ला क्रिकेट मैदान भारतले बनाउने सहमति भएको छ’
काठमाडौँ । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र धनगढीको फाप्ला क्रिकेट मैदान भारत सरकारले बनाउने लिखित सहमति भएको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले बताउनुभएको छ ।
अध्यक्ष चन्दले उक्त सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठमा भारत भ्रमणको समयमा भएको बताउनुभयो ।
प्रधानमन्त्रीको भारत भ्रमणको समयमा फाप्ला र गौतमबुद्ध क्रिकेट स्टेडियम भारतले बनाइदिनेमा नेपालको एजेन्डा थियो । नेपालका प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त एजेन्डामा लिखित सम्झौता नै गर्नुभएको उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष चन्दले उक्त दुई मैदान चाँडै बनाइदिन भारत सरकारलाई आग्रह गर्नुभयो । धुर्मुस सुन्तली फाउन्डेसनको पहलमा जनस्तरबाट चितवन भरतपुर नगरपालिकामा निर्माणाधीन बहुउद्देश्यीय गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला पछिल्लो एक वर्षदेखि अलपत्र छ ।
नेपालले २०१८ मा ओडिआई मान्यता पाएपछि धुर्मुस सुन्तली फाउन्डेसनले उक्त रंगशाला बनाउने घोषणा गरेका थिए । कोरोना महामारीको समयमा पनि उक्त निर्माणको काम रोकिएको थिएन । तर जनस्तरबाट बाचा गरेको रकम नउठेपछि ऋणको कारण धुर्मुस सुन्तली फाउन्डेसन निर्माणको लागि पछि हटेको थियो । हाल उक्त रंगशाला भक्तपुर महानगर पालिका र नेपाल सरकारले बनाउने बताउँदै आएका छन् ।
रङ्गशालामा निर्माणका लागि झन्डै ३ अर्ब खर्च हुने बताएको छ । ३० हजार समर्थक अट्ने क्षमता भएको यस रंगशाला विशेष त सिङ्गो देशको प्रतिष्ठासँगै राष्ट्रिय एकताको परियोजना समेत हुने बताइएको थियो । यस निर्माणाधीन रङ्गशालामा सिङ्गो देश हेर्न सकिने बताइएको थियो ।
यता दुई वर्षअघि नेपाल सरकारले कैलाली धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई साँढे ३८ बिघा जग्गा उपलब्ध गराउने बताएको थियो । फाप्ला क्रिकेट मैदानमा तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) सन् २०१९ मा सम्पन्न भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्