तपाईँ सुन्दै हुनुहुन्छः

२९ औ तामाङ प्रसारण दिवस भव्यताका साथ मनाइँदै

काठमाडौँ । आज तामाङ समुदायले २९ औँ तामाङ प्रसारण दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइरहेका छन् । 

बिक्रम सम्वत २०५१ साल भदौ १ गते रेडियो नेपालबाट पहिलोपटक तामाङ भाषामा “तामाङ ताम्ला सान्ग्युर” अर्थात् तामाङ भाषाको समाचार प्रसारण भएको दिनको सम्झनामा हरेक वर्ष भदौ १ गतेलाई तामाङ समुदायले प्रसारण दिवसको रुपमा मनाउँदै आइरहेको छ । 

दिवसको अवसरमा तामाङ पत्रकार संघ केन्द्रीय कार्य समितिले “तामाङ मिडिया अवार्ड २०८०” प्रदान गरेको गरेको छ । सो अवार्डबाट काठमाडौँ उपत्यकाबाट इण्डिजिनियस टेलिभिजनका कार्यक्रम उत्पादक तथा प्रस्तोता मायालु तामाङ (ङेसुर) र मोफसलबाट धनकुटाबाट प्रकाशन हुने ब्लास्ट राष्ट्रिय दैनिकमा कार्यरत पत्रकार सन्तवीर तामाङलाई सम्मान गरेको छ । 

कार्यक्रममा बागमती प्रदेशका ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्री तिर्थ बहादुर लामाले बागमती प्रदेश सरकारको मन्त्रीपरिषद्ले तामाङ भाषा र नेवारी भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गर्ने निर्णय गरिसकेको बताउनुभएको छ । 

मन्त्री लामाले २१ औँ शताब्दीका तामाङ पत्रकारहरूलाई नयाँ तरीकाले सत्य र तथ्यको आधारमा पत्रकारिता गर्न पनि आग्रह गर्नुभएको छ । 

कार्यक्रममा तामाङ पत्रकार सङ्घले प्रकाशन गरेको “ह्याङला काई” विशेषको विमोचन गरेको छ भने चन्द्र कुमार मोक्तानले गाउनुभएको पुरानो तामाङ गीत “साङाला जिर्मा ग्वाईबारी म्हेन्दो” नयाँ रिमिक्स भर्सन गीतको भिडियो पनि सार्वजनिक गरेको छ । नयाँ रिमिक्स गीतमा गायक सुनिल लामा र गायिका सोनिया लामाले स्वर दिनुभएको छ भने वाइएसके ग्रुपले र्‍याप भरेका छन् । 

कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले, मानवशास्त्री डा.मुक्त सिं तामाङ, भाषाविद् अमृत लामा, रेडियो नेपालबाट पहिलो पटक तामाङ भाषामा समाचार वाचन गर्नुभएका समाचार वाचीका रमिता बल (तामाङ), आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजका उपाध्यक्ष लक्की चौधरी, पुरस्कार छनौट समितिका संयोजक तथा तामाङ पत्रकार संघका निवर्तमान अध्यक्ष प्रतीक ङेसुर, रेडियो नेपालका तामाङ भाषा समाचार सम्पादक तथा वाचीका इन्दिरा थिङ (तामाङ)ले प्रसारण दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

यसैबीच, २९ औँ तामाङ प्रसारण दिवसको अवसरमा तामाङ पत्रकार संघ दक्षिण कोरियाले भर्चुअल रुपमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ भने तामाङ पत्रकार संघ काठमाडौँ जिल्ला शाखा र भक्तपुर तामाङ पत्रकार संघ जिल्ला शाखाले “तामाङ पत्रकारहरूको वर्तमान अवस्था, चुनौती र सम्भावना” बारे अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ । 

आज तामाङ पत्रकार संघ काभ्रे, सिन्धुली, मकवानपुर, सर्लाहीका साथै देशभरका ३६ जिल्लामा रहेका जिल्ला शाखाहरूले तामाङ प्रसारण दिवसलाई विभिन्न कार्यक्रमको आयोजना गरी भव्यरुपमा मनाइरहेको छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button