तपाईँ सुन्दै हुनुहुन्छः

स्वाइनफ्लुबाट बंगुरपालनमा सात करोडको क्षति

चितवन । चितवनमा गत आर्थिक बर्ष ०७८।०७९ मा स्वाइनफ्लु रोगबाट चितवनका बंगुरपालन किसानको झण्डै सात करोडको क्षति भएको छ । 

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनको तथ्याङ्कअनुसार ११ वटा फार्मका तीन हजार तीन सय १२ बङ्गुर मर्दा छ करोड ९७ लाख ६९ हजार रूपैँया बराबरको क्षति भएको हो । 

पशु चिकित्सक डा. रामचन्द्र आचार्यले गतबर्ष चितवनका बंगुरपालन किसानले स्वाइनफ्लु सङ्क्रमणबाट ठूलो क्षति बेहोर्नु परेको बताउनु भयो । स्वाइनफ्लुको प्रकोपबाट बङ्गुर मर्न थालेपछि ती खोरमा तत्कालै  नयाँ पाठा राख्न नदिएको उहाँको भनाई छ । खोर पूर्णरुपमा निर्मलीकरण भएपश्चात् मात्र बङ्गुरका पाठा किसानले राख्न थालेका छन् । 

डा.आचार्यका अनुसार एकपटक सङ्क्रमित भइसकेको खोरमा पनि एक हजार दिनसम्म सङ्क्रमण हुन सक्ने देखिन्छ । त्यसपछि मात्रै पशुपंक्षी राख्न सकिने उहाँले बताउनु भयो  । ‘अफ्रिकन स्वाइन फिभर’ नामक सरुवा भाइरसका कारण चितवनका व्यावसायिक बंगुरपालक किसानको खोर नै रित्तिएका थिए । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरसँग तथ्याङ्कअनुसार चितवनमा २०७९ को साउन ८ गते पहिलोपटक यो रोग देखा परेको थियो ।

त्यसयता सङ्क्रमण फैलिने क्रम नरोकिएको पशुसेवा विज्ञ केन्द्रले जनाएको छ । विज्ञ केन्द्रकी प्राविधिक सजना राईले पछिल्लो समय गएको जेठ १० गते भरतपुर–१, ठिमुराको एउटा फार्ममा यो समस्या देखा बताउनु भयो   । जहाँ ४६ वटा बङ्गुर मरेका  थिए ।सङ्क्रमण देखिएपछि हालसम्मको तथ्याङ्क हेर्दा चितवनमा तीन हजार तीन सय १२ वटा बङ्गुर अफ्रिकन स्वाइन फिभर नामक सङ्क्रामक भाइरसकै कारण मरेका छन् । 

उहाँका अनुसार सङ्क्रमण फैलिएको फार्ममा ७५ प्रतिशतसम्म बङ्गुर मरेका छन् ।  ‘एउटा खोरमा सङ्क्रमण फैलिइसकेपछि त्यसलाई निः सङ्क्रमण बनाएर पनि तीन महिनासम्म त्यही खोर पुनः प्रयोग गर्न नमिल्ने देखिन्छ’, उहाँले भन्नुभयो  । 

चितवनमा सबैभन्दा ठूलो क्षति किसान नरेन्द्रकुमार कन्दङ्वा लिम्बूको  अफ्रिकन स्वाइन फिभरबाट एक हजार दुई सय ५० बङ्गुर मरेका थिए । उहाँको फार्ममा मात्रै करिब चार करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको उहाँले बताउनु भयो   ।

किसानको समस्याबारे सरकारले राहत उपलब्ध गराउने भएपछि जिल्लामा ११ वटै फर्मबाट आवेदन परेको थियो । ती सबै फर्मको क्षति विवरण मन्त्रालयमा पठाइसकिएको हुँदा राहत रकम पाउने प्रक्रिया सुरु भइसकेको विज्ञ केन्द्रले  जनाएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button