तपाईँ सुन्दै हुनुहुन्छः

उद्योग परिसंघ र आइडिया स्टुडियो नेपालबीच सहकार्यको समझदारी

काठमाडौँ । नेपाल उद्योग परिसंघ र आइडिया स्टुडियो नेपालबीच उद्यमशीलता क्षेत्रमा सहकार्य गर्न समझदारी भएको छ । समझदारी पत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र आइडिया स्टुडियोका अध्यक्ष डा. छिरिङ लामाले हस्ताक्षर गर्नुभयो ।

दुई संस्थाबीच भएको समझदारी अनुसार प्राविधिक, वैज्ञानिक, वित्तीय तथा मानव संसाधनको सहयोगबाट उद्यमशीलता तथा लगानी प्रवर्द्धनका क्षेत्रमा सहकार्य हुनेछ ।

परिसंघको सचिवालयमा आयोजित समझदारी पत्र हस्ताक्षर कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले आर्थिक विकासका लागि देशमा उद्यमशीलता तथा व्यावसायिक प्रवर्द्धन गर्न सरकारसँग प्रभावकारी रुपमा काम गर्नुपर्ने बताउनुभयो ।

‘ब्रेन डेन’ रोक्न, उद्यमीहरूका लागि उचित वातावरण बनाउन आवश्यक रहेको भन्दै अध्यक्ष अग्रवालले भन्नुभयो, ‘आइडिया स्टुडियोसँगको सहकार्यले नवीन सोच भएका युवाहरूलाई उद्यम बन्न रचनात्मक सहयोग हुने मेरो विश्वास छ ।’

परिसंघले अगाडि बढाइरहेको मेक इन नेपाल स्वदेशी अभियान, स्टार्टअप एवं उद्यमशीलता प्रवर्द्धन सम्बन्धी गतिविधिबारे जानकारी गराउँदै अध्यक्ष अग्रवालले दुई संस्थाबिचको सहकार्यले यस क्षेत्रमा नविनतम् काम हुने पनि बताउनुभयो ।

यस्तै सो अवसरमा आइडिया स्टुडियोका अध्यक्ष लामाले परिसंघ सँगको सहकार्यले नेपालमा उद्यमशीलता तथा लगानीका क्षेत्रहरूमा नयाँ सम्भावनाहरू खोजी गर्दै नेपालमै केही गर्न सकिन्छ भन्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो ।

देशमा केही गरौँ भन्नेहरूका लागि सीप तथा नीतिगत सुधारमा काम गर्नुपर्ने र परिसंघ सँगको सहकार्यले उद्यमशीलता एवं इनोभेसनका क्षेत्रमा थप काम गर्न सकिने आफ्नो विश्वास रहेको पनि अध्यक्ष लामाले बताउनुभयो ।

कार्यक्रममा परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले उद्यमशीलताको क्षेत्रमा सामूहिक रुपमा नयाँ काम हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल उद्योग परिसंघ नेपालको ठूला र मझौला उद्योग समुदायको व्यावसायिक नेतृत्वमा उत्पादन र सेवा क्षेत्रको उद्योग केन्द्रित शीर्ष निकायको रुपमा रहेको छ ।

परिसंघको प्रमुख उद्देश्य स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धन गर्दै देशका औद्योगिक तथा कर्पोरेट क्षेत्रमा रोजगारीका अवसरहरू सिर्जना गर्दै उद्योगहरूबिच सकारात्मक प्रतिस्पर्धा र सक्षम व्यवस्थापनलाई प्रोत्साहित गर्नु रहेको जनाइएको छ ।

यस्तै आइडिया स्टुडियो नेपाल सामाजिक रूपान्तरण र उद्यमशीलताको क्षेत्रमा आठ वर्ष देखि निरन्तर काम गर्दै आएको संस्थाको रुपमा रहेको छ ।

आइडिया स्टुडियो नेपालले नेपालमा उद्यमशीलताको इकोसिस्टमलाई बढावा दिन सरकार, शिक्षाविद्, सार्वजनिक र निजी क्षेत्र, वाणिज्य बैङ्क, मिडिया हाउस, व्यापार र उद्योग सङ्गठनहरू र अन्य धेरै संस्थाहरूसँग साझेदारीमा काम गर्दै आइरहेको आइडिया स्टुडियो नेपालकी परियोजना संयोजक प्रज्ञा घिमिरेले जानकारी दिनुभयो ।

आइडिया स्टुडियो नेपालले सम्भाव्य व्यावसायिक विचारहरूलाई व्यवसायमा परिवर्तन गर्ने, सामाजिक परिवर्तनलाई प्रज्वलित गर्ने र नवप्रवर्तनको माध्यमबाट उद्यमशीलताको प्रवर्द्धन गर्ने प्ल्याटफर्मको रुपमा काम गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button