तपाईँ सुन्दै हुनुहुन्छः

कृषिमा प्रविधिको बढ्दो प्रयोग

धनकुटा । पछिल्लो समय धनकुटाका किसानले वाली उत्पादनमा कृषि यान्त्रीकरणको प्रयोग गर्न थालेका छन्। लागत खर्च कम पर्ने, समयको बचत हुने तथा कृषिजन्य उत्पादनमा वृद्धि हुने भएकाले किसानहरूले  कृषि यान्त्रीकरणको प्रयोग गर्न थालेका छन्।

धनकुटा–४ कर्मीटारकी शर्मिला राई हिजोआज खेतबारी जोत्नका लागि हलोको ठाउँमा पावर टिलरको प्रयोग गर्नुहुन्छ। समयको बचतसँगै थोरै श्रममा एकै पटक धेरै खेतबारी जोत्न सकिने भएकाले पावर टिलरको प्रयोग गर्दै आइरहेको उहाँ बताउनु हुन्छ। 

आधुनिक कृषि यन्त्रको प्रयोगले समय र लागतसमेत कम हुने किसानहरू बताउँछन्। पछिल्लो समय कृषि क्षेत्र जनशक्तिको अभाव छ। कृषि यन्त्रको प्रयोग गरेर खेती गर्दा कम लागतमा कृषिको उत्पादन लिन सकिन्छ। धनकुटा–४ ठोका गाउँका अगमशेर राईले पनि तरकारी खेतीमा मल्चिङ प्लास्टिकको प्रयोग गर्न थाल्नुभएको छ। मल्चिङ प्लास्टिकको प्रयोगले उत्पादनमा वृद्धि भएको उहाँको भनाई छ। 

कृषि यन्त्रको प्रयोग किसानले बढाएपछि पछिल्लो समय धनकुटामा कृषि यन्त्र पाइने पसलहरू धमाधम सञ्चालनमा आउन थालेका छन्। विशेष गरी धनकुटा सदरमुकाम, हिले बजार, पाख्रिवास, छथरजोरपाटी तथा सिँधुवा बजार क्षेत्रमा दर्जनभन्दा बढी पसलहरू सञ्चालनमा छन्। किसानबाट कृषि यन्त्रको माग बढी मात्रामा आउने थालेको व्यवसायी विपिन दाहाल बताउनु हुन्छ। 

जिल्लाका स्थानीय तह र कृषिसँग सम्बन्धित सरकारी निकायले किसानलाई कृषि यान्त्रीकरण खरिदमा अनुदानको व्यवस्था गर्दै आइरहेको छ। तर, किसानहरू भने कृषि यान्त्रीकरण प्रयोग सम्बन्धी तालिम  हुनुपर्ने माग गर्छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button