सुस्त गतिको इन्टरनेटले मर्कामा मुगाली

मुगु । नेपाल टेलिकम मार्फत वितरित विभिन्न गतिका इन्टरनेट सेवाहरू कछुवा गतिले चली दिँदा मुगुका सेवाग्राही मर्कामा परेका छन् ।
जिल्ला सदरमुकाम गमगढी वरिपरिका ग्राहकलाई लक्षित गरि टेलिकमले प्रदान गरेको फोरजी,थ्रिजी र एडिएसएल इन्टरनेट सेवा कछुवा गतिमा चल्दा आफूहरू मर्कामा परेको यहाँका सेवाग्राहीहरूको गुनासो छ । फोरजी र थ्रीजीभन्दा एडिएसएलको गति केही छिटो भएपनि दुवै जीको गति भने सुस्त रहेको यहाँका अधिकांशको गुनासो छ ।
‘मोबाइलमा फोरजी देखाउँछ, चल्ला नी त भन्ने आश लाग्छ, डाटा लियो, चल्दैन तर पैसा भने काटी हाल्छ’, शिखर ईन्स्युरेन्स मुगु शाखाका कर्मचारी लोकेन्द्र भण्डारी बताउनुभयो , उहाँले फोरजी डाटा २०/२५ केवी/एस गतीमामात्र चलेको बताउनुभयो । यो गतिको इन्टरनेटले कार्यालयका कुनै पनि काम गर्न नमिल्ने बताउनुभयो । भण्डारीले यस विषयमा गमगढीमा रहेको टेलिकमको कार्यालयमा गुनासो गरेपनि सुनुवाई नभएको बताउनुभयो ।
छायाँनाथ रारा नगरपालिका वडा नं १ का शिक्षक मोहन कुमार मल्लको गुनासो पनि लोकेन्द्रकै जस्तै छ । उहाँ पनि टेलिकमको सेवाबाट सन्तुष्ट हुनुहुन्न । केही महिना अघिसम्म राम्रै सेवा पाए पनि त्यो निरन्तर हुन नसकेको उहाँको बुझाइ छ । ‘कार्यरत विद्यालयमा लेनलाईन र एडिएसएल सेवा छैन, त्यसैले इन्टरनेट जन्य काम गर्दा डाटा लिने गरेको छु । ३/४ महिना पहिला इन्टरनेटको गति ठिकै थियो । फोरजीले काम नगरेर थ्रीजीमा बदले, थ्रीजीले काम नगरेर फेरी फोरजीमा मोवाईलको डाटा नेटवर्क बदले जुन जीमा बदले पनि काम गर्न छाड्यो’, उहाँले भन्नुभयो । उहाँले अहिले आफूले टेलिकमको सजिलो प्रिपेड डाटा लिएर दैनिक २ जीवी आउने २८ दिन प्रयोग अवधिको डाटा प्याक लिई इन्टरनेटजन्य काम गदै आएको बताउनुभयो ।
‘घरमा एडिएसएल जोडेको छु,विद्युत् प्राधिकरणबाट वितरित विद्युत् नियमित नहुने भएपछि इन्टरनेट जन्य काम गर्न नियमित मोबाइलमा डाटा लिन्ने गर्थे लामो समय भयो डाटाले पनि राम्रो काम गरेको छैन, आफ्नो उपस्थिति मात्र देखाएको छ । देशका अन्य ठाउँमा फोरजी कस्तो चल्छ थाहा भएन तर मुगुको सन्दर्भमा फोरजी होइन की फोहर जि जस्तै पो भयो इन्टरनेट गति’, नेपाल पत्रकार महासङ्घ मुगु शाखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले गुनासो गर्नुभयो । उहाँले कतै टेलिकमले फोरजी भनेर टु जी गतिको नेट त वितरण गरेको छैन ? भन्नै आशङ्का व्यक्त गर्नुभयो । उहाँले दुर्गममा वितरित नेटको गति बारे नियमन निकायले छानविन गर्नुपर्ने बताउनुभयो ।
भण्डारी र मल्ल जस्तै यहाँका अधिकांश टेलिकमका ग्राहकहरूको पीडा उस्तै छ । तीन महिना यता इन्टरनेटको गति सुस्त भइदिँदा यहाँका सबैजसो सेवाग्राहीहरू इन्टरनेटको गतिप्रति दुखेसो पोख्छन् । इन्टरनेटको डाटा गति सुस्त हुँदा विद्यार्थी,शिक्षक,विभिन्न परीक्षाको तयारी कक्षा पढ्ने र सन्दर्भ सामग्रीहरु गुगलमा खोज्ने व्यक्तिहरू बढी प्रभावित भएका छन् ।
सरकारले ‘हातहातमा मोबाइल, घरघरमा इन्टरनेट’को नारा लिएर गाउँ गाउँ कुना कुनामा मोबाइल टावर राखी टेलि सेवा मार्फत फोन र इन्टरनेट सेवा दिए पनि नेटको गति फोनको गुणस्तर बारे नियमन नहुँदा ग्रामीण तथा दुर्गम क्षेत्रका बासिन्दा मर्कामा परेको धेरैको गुनासो छ ।
मुगुमा लामो समय देखिको इन्टरनेटको गतिमा देखिएको समस्या बारे नेपाल टेलिकम क्षेत्रिय कार्यालय सुर्खेतका प्रमुख उमेश शाहसँग बुझ्दा ग्राहक अधिक भएको र ट्राफिक जाम हुँदा इन्टरनेटको गतिमा समस्या आएको बताउनु हुन्छ । उहाँले मुगुमा दुई तिन महिनाबाट देखिएको समस्या समाधान गर्न पहल भइरहेको बताउनुभयो । आफूले मुगु कार्यालय र केन्द्रसँग समन्वय गरि समाधानका लागी पहल गरिरहेको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्