भोजपुरमा बनेको रंगशाला प्रयोगमा आएन

भोजपुर । खेल मैदान नहुँदा खेलकुद गतिविधि प्रभावित भएको अवस्थामा भोजपुरमा बनेको नयाँ रंगशाला समेत प्रयोगमा आउन सकेको छैन ।
तत्कालीन जिल्ला बिकास समितिले रंगशाला निर्माणका लागि २०६४ सालमा जग्गा खरिद गरेको स्थानमा बनेको अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता गर्न मिल्ने रंगशाला प्रयोगमा आउन नसकेको हो । सदरमुकाममा रहेको स्थानीय टुँडिखेलको सानो मैदानमा जिल्लामा हुने साना देखि ठुला प्रतियोगिताहरू सञ्चालन भई रहेको अवस्थामा सुविधा सम्पन्न रंगशाला बने पछि सहजता होला भनिएता पनि रंगशालाको स्वामित्व कस्ले दिएर सञ्चालन गर्ने विषय टुङ्गो नलाग्दा समस्या देखिएको भोजपुर जिल्ला फुटबल संघका महासचिव सफल किराँतले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारको लगानीमा बनेको रंगशाला प्रयोगमा ल्याउने विषयमा टुङ्गो लाग्न सकेन, यस विषयमा सर्वपक्षीय बैठकको जरुरी देखिएको छ ।”
प्रदेश सरकारको १४ करोड पाँच लाखको लागतमा निर्माण भएको रंगशालाको निर्माण कार्य भई सकेको छ । रायमाझी मार्सेली निर्माण जेभीले रंगशाला निर्माणको काम गरेको हो । करिब पाँच हजार दर्शक अट्न सक्ने क्षमताको अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणले भोजपुरवासी तथा खेलाडीहरूमा उत्साह जगाएको भए पनि त्यो निराशामा परिणत भएको स्थानीय सुवेन्द्र महतले बताउनुभयो ।
सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय स्तरका फुटबल प्रतियोगिताहरू समेत भई रहेको अवस्थामा रंगशालाको निर्माणले खेल मैदानको समस्या दीर्घकालिनरुपमा समाधान भएको भए पनि सञ्चालनका विषयमा कसैले पहल नगर्दा समस्या देखिएको महतको भनाई रहेको छ । महतले भन्नुभयो, “रंगशाला निर्माणका लागि कृषि योग्य जमिन समेत मासिएको छ, राज्यको करोडौँ लगानीमा निर्माण भएको अन्तर्राष्ट्रिय स्तरको रंगशाला लथालिङ्ग अवस्थामा छाड्नु कतिको जायज हुन्छ ।” निर्माण सम्पन्न पश्चात् पनि अस्तव्यस्त नै छाडने भए खेतीयोग्य जग्गा बिगारेर निर्माण गर्नुको औचित्य के छ ? महतले प्रतिप्रश्न समेत गर्नुभयो ।
रंगशालाको अभावमा प्रतियोगिता सञ्चालनमा समस्या देखिएको अवस्थामा रंगशाला निर्माण भएको बताउँदै खेल अभियन्ता बिनम श्रेष्ठले भन्नुभयो, “खेल मैदान सानो हुँदा ११ जना खेलाडीले खेल्न पाउने फुटबल पनि ९ जनालाई मात्र खेलाउनु पर्ने अवस्था छ, करोडौँका लागतमा बनेको रंगशाला प्रयोगमा ल्याउने विषयमा पनि कसैको चासो छैन ।”
जुन प्रयोजनका लागि जग्गा खरिद भएको हो, त्यसमा रंगशाला निर्माण पनि भएको छ, अव सञ्चालनको वातावरण कसले मिलाउने हो, स्थानीय युवा तुफान किराँतले भन्नुभयो । विभिन्न निकायमा रंगशाला प्रयोगका विषयमा कुरा उठाउँदा समेत सुनुवाई नभएको किराँतको गुनासो रहेको छ । उचित भौतिक संरचनाको निर्माण कार्य नहुँदा यहाँका खेलाडीहरू सदरमुकाममा रहेको स्थानीय टुँडिखेलको सानो मैदानमा प्रतियोगिताहरू खेल्न बाध्य बनेका थिए । नेपाललाई चिनाउने अल्ट्रा धाविका मीरा राई, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सामेल भएका ब्याडमिन्टनका खेलाडीहरू बिकास श्रेष्ठ, नक्सलदेवी तामाङ, सरादेवी तामाङ लगायतका खेलाडीहरू भोजपुरका नै भएको अवस्थामा जिल्लामा यवस्थित रंगशालाको भने अभाव थियो ।
भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले प्रदेश र स्थानीय सरकारको सहयोगमा खेलकुदका संरचनाहरू जिल्लामा निर्माण हुने क्रम बढेको बताउनुभयो । सुवालले बनेका संरचनाहरू सञ्चालन आउने र बन्न बाँकी संरचनाहरू सक्ने अभियानमा सरोकारवालाको ध्यान जान जरुरी देखिएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्