भीमदत्त नगरपालिका–१३ ले खरका छाना विस्थापित गरी पक्की घर बन्दै

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ ले खरका छाना विस्थापित गरी पक्की घर बनाउन थालेको छ। वडामा खर र फुसका झुपडीमा बस्दै आएका १८ घरपरिवार लाभान्वित हुने छन् ।
वडाध्यक्ष रामचन्द्र बोहराले कच्ची घर विस्थापित गरेर पक्की घर बन्न थालिएको जानकारी दिनु भएको छ।
वडाको सोनापुर टोलको अति पिछडिएको बस्तीका १८ र वडाभित्र अन्य गरी जम्मा ३० घरपरिवार कच्ची फुसका घरमा बसोबास गर्दै आइरहेका छन्।
एक घर निर्माण गर्न तीन लाख रुपियाँको अनुमानित बजेटमा दुई कोठा, भान्सा र बरन्डासहितको पक्की घर बन्ने उल्लेख गरिएको छ । वडामै सबैभन्दा पिछडिएका बस्तीका रूपमा परिचित सोनापुर टोलमा अधिकांश दलित समुदायको बाहुल्य रहेको छ।
सो बस्तीमा बसोबास गर्ने पुरुष भारतमा मजदुरी गर्न जाने गर्छन् भने महिला महाकाली नदीमा गिट्टी, बालुवा छानेर गुजारा चलाउने गर्छन्। सोनापुर टोलमा बस्ने १८ परिवारको जग्गासमेत ऐलानी भएको र उनीहरूलाई सरकारले सेतो लालपुर्जा मात्रै दिएको छ।








प्रतिक्रिया राख्नुहोस्