स्वदेशमै अवसर खोजौँ, विदेश जाने बित्तिकै सबै कुरा प्राप्त गर्न सकिन्न : मन्त्री डा महत

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले उद्यमशीलता विकासको अवसर विदेशमा भन्दा स्वदेशमै रहेको र यसको नेतृत्व युवाले गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सृजनशील युवा राष्ट्रिय अभियानले आज काठमाडौँमा आयोजना गरेको ‘इन्टरप्रेनसीप मोटिभेसन कन्क्लेभ’लाई सम्बोधन गर्नुहुँदै उहाँले विदेश जाने बित्तिकै सबै कुरा प्राप्त गर्न सकिन्छ भन्ने भ्रमबाट युवाहरूलाई मुक्त गर्न जरुरी छ भन्नुभयो ।
“हामीकहाँ विकास हुन बाँकी छ । यस कारण यहाँ अवसर प्रशस्त छ । विदेशमा सबै भौतिक सुविधा हुँदा पनि त्यहाँ खुसी छैन, बाहिरबाट सबै सुविधा देखिए पनि भित्र खोक्रो छ”, अर्थमन्त्री डा महतले भन्नुभयो,“अवसर हेर्ने सूक्ष्म आँखा चाहियो यही अवसर खोज्नेलाई सरकारले अनुदान, सस्तो ऋण, कर छुट लगायतका सुविधा दिइरहेको छ । अहिले युवाहरूमा विदेश गएन भने आफ्नो हैसियत सानो र कमजोर भएको भन्ने गलत सोचाई हाबी हुँदै गएको छ, जुन चिन्ताको विषय हो ।”
अर्थमन्त्री डा महतले मुलुकको अर्थतन्त्र लयमा फर्किएको र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सकारात्मक सोच राख्नुपर्छ भन्नुभयो । उहाँले विदेशमा आर्जित पुँजी र सीप नेपालमा प्रयोग गर्न जोड दिनुभयो । अहिले पर्यटन क्षेत्र सुधार हुँदै गएको र सूचना प्रविधिका क्षेत्रमा पनि नेपालको राम्रो सम्भावना देखिन थालेको बताउनुभयो ।
चालु आर्थिक वर्षको बजेटबाट सरकारले सूचना प्रविधि क्षेत्रको सेवा निर्यातका लागि सहजीकरण गरेको उहाँले बताउनुभयो । अहिले प्रविधिको प्रयोगले बजारीकरण गर्न सजिलो भएको उहाँको भनाइ छ । आर्थिक विकास, उद्यमशीलता र रोजगारी अवसर र चुनौती शीर्षकको पहिलो सत्रमा पूर्व अर्थमन्त्री डा युवराज खतिवडाले उद्यमशीलता भनेको व्यक्तिको क्षमतामा निहित हुने र त्यस्तो क्षमता सिकाइमा भर पर्ने बताउनुभयो । उद्यमशीलता विकासका लागि व्यक्तिको क्षमता विकास महत्त्वपूर्ण हुने उहाँको भनाइ छ । उद्यमशीलता प्रवर्द्धनका लागि सरकारले लिएका नीति र योजनाको लाभ युवाले पाउन नसकेको पनि पूर्व अर्थमन्त्री खतिवडाले उल्लेख गर्नुभयो ।
सोही कार्यक्रममा राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरणकुमार श्रेष्ठले युवा लक्षित उद्यमशीलता कार्यक्रमका लागि बैङ्किङ क्षेत्रले १० प्रकारका सहुलियतपूर्ण कर्जा उपलब्ध गराइरहेको बताउनुभयो । महिला उद्यमशीलता, शैक्षिक प्रमाणपत्र धितो कर्जालगायत बिना धितो कर्जाका कार्यक्रम सञ्चालन भइरहेकोमा त्यसको लाभ युवाहरूले लिन सक्नुपर्छ भन्नुभयो । उद्यमशीलता लक्षित कर्जा कार्यक्रमको उपलब्धि लक्ष्य अनुरूप नदेखिएको उहाँको भनाइ थियो । रासस








प्रतिक्रिया राख्नुहोस्