तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीय निजामती ऐन एक साताभित्रै सदनमा दर्ता हुन्छ : उपप्रधानमन्त्री खड्का

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले सङ्घीय निजामती ऐन एक साताभित्रै सदनमा दर्ता हुने जानकारी दिनुभएको छ । 

नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्यसमितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले निजामती विधेयक चालु अधिवेशनमै सदनमा दर्ता भई छलफल अघि बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “विधेयक छिट्टै सदनमा दर्ता हुन्छ, पहिलेको तुलनामा धेरै उन्नत, समृद्ध र वैज्ञानिक बनाउन कोसिस गरिएको छ ।” संविधान जारी भएको आठ वर्ष पूरा भइसक्दासमेत सङ्घीय निजामती ऐन जारी नभएपछि सरकारको काम गर्ने तरिका र प्राथमिकताका विषयमा आलोचना हुँदै आएको छ ।

सुशासन प्रदान गर्ने सन्दर्भमा देखिएको निर्णय प्रक्रियामा हुने ढिलासुस्ती हटाउन सुधारको कार्य योजना अघि बढाइएको उल्लेख गर्दै उहाँले पैसाको अभावले मात्र नभई झन्झटिलो निर्णय प्रक्रियाका कारण लक्ष्य अनुरूप पुँजीगत खर्च नहुँदा विकास र समृद्धिका मुद्दा ओझेलमा पर्दै आएकामा सुधारको खाँचो औँल्याउनुभयो ।

उपप्रधानमन्त्री खड्काले भन्नुभयो, “निर्णय प्रक्रियालाई छिटोछरितो गराउन केही आधारभूत सुधारको खाँचो छ, सुशासन र सेवा प्रवाह तथा संविधानले सुनिश्चित गरेको अधिकार कार्यान्वयनको विषयलाई सरकारले जोड दिएको छ ।” 

राष्ट्रसेवक कर्मचारीबाट आम सेवाग्राहीप्रति गरिएको हार्दिकतासहितको बोली, व्यवहार र कामको समाजमा सर्वत्र छलफल र चर्चाको विषय बन्न आवश्यक रहेको बताउँदै उहाँले नागरिकमैत्री सेवा प्रवाहले नेतृत्व बलियो हुने मात्र नभई सङ्गठन सुदृढ हुने पक्षमा हेक्का राख्न सुझाव दिनुभयो । 

नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले निजामती सेवाभित्रका उच्च प्रशासनले आफूलाई केन्द्रमा राखेका कारण निजामती विधेयक जारी हुन ढिलाइ गरिएको बताउनुभयो । 

युनियनका वरिष्ठ उपाध्यक्ष उत्तम कटुवालले सङ्गठन सुदृढीकरण, नेतृत्व विकास र सकारात्मक सोच जागृत तुल्याउने उद्देश्यका साथ आयोजना गरिएको प्रशिक्षणबाट सङ्गठनको ओज बढाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

युनियनले आगामी भदौ १ गते हुने राष्ट्रिय भेलाको पूर्व सन्ध्यामा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य एवं सल्लाहकार, सङ्गठन र प्रशिक्षण विभागका सदस्यका लागि एक दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button