तपाईँ सुन्दै हुनुहुन्छः

आँखा पाक्ने समस्याले सल्यानका विद्यालय बन्द 

सल्यान । आँखा पाक्ने समस्या बढ्दै गएपछि सल्यानका केही विद्यालय बन्द भएका छन् । आँखा पाक्ने रोग तीव्र रुपमा फैलिएको भन्दै सल्यानका केही संस्थागत विद्यालयले एक हप्ताका लागि विद्यालय बन्द गरेका छन् । 

विद्यार्थीलाई संक्रमित हुनबाट जोगाउन विद्यालय भदौ ३ गतेसम्मका लागि बन्द गरिएको मोर्डन तुल्सी माध्यमिक विद्यालय शितलपार्टीका भ्वाइस प्रिन्सिपल दीपेन्द्र डाँगीले जानकारी दिनु भयो । केही विद्यार्थीमा आँखा पाक्ने रोग देखिएको र अन्य विद्यार्थीमा पनि फैलिन सक्ने भएकाले एक हप्ताका लागि विद्यालय बन्द गर्नु परेको उहाँको भनाई छ । भिडभाडमा यस प्रकारको संक्रमण छिटो फैलिने भएकाले यसको नियन्त्रणका लागि विद्यालय बन्द गर्नु परेको उहाँले बताउनु भयो । 

शारदा नगरपालिकाका मोर्डन तुल्सीसँगै ब्राइट रोजल्याण्ड र मित्र प्याराडाइज बोडिङ स्कुलमा पनि बन्द भएका छन् । 

जिल्लामा पछिल्लो समय आँखा पाक्ने रोग तीव्र रुपमा फैलिएको शितलपाटी आँखा अस्पतालले जनाएको छ । विगतमा ४० देखि ४५  जनासम्म आँखाका बिरामी आउने गरेकोमा आजभोलि १ सय ५० सम्म पुग्ने गरेको शिलतपाटी आँखा उपचार केन्द्रकी इन्चार्ज नवीना चौधरीले बताउनु भयो । चिकित्सकीय भाषामा आँखाको सेतो भाग सुन्निने र रातो हुने समस्यालाई ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ भनिन्छ ।

यस्तो संक्रमण हुँदा आँखा गुलाफी वा रातो देखिने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने लगायतका लक्षण देखिने इन्चार्ज चौधरीको भनाई छ । बिरामीको परेला सुन्निने, आँखामा केही बिझे जस्तो महसुस हुने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुने लगायतका समस्या पनि देखिन उहाँले बताउनु भयो । 

उहाँका अनुसार संक्रमण सामान्यतः ७ देखि १० दिनसम्म रहन्छ । तर, कसैकसैमा भने जटिल बनेर आँखाको कोर्नियामा समेत असर गर्न सक्छ । त्यसैले संक्रमण देखिनासाथ उपचार प्रक्रियामा जानु आवश्यक रहेको उहाँले बताउनु भयो ।  संक्रमित व्यक्ति वा घरबाहिर गएर फर्केका स्वस्थ व्यक्तिले हात नियमित रूपमा साबुनपानीले धुनुपर्ने बेला तौलिया, रुमाल, लुगाफाटो, मेकअपका सामान अरूलाई प्रयोग गर्न दिन नहुने उहाँले सुझाव छ । रोग लागि हालेमा चिसो पानीले समय समयमा सफा गर्ने, तातो चिजले नसेकाउने, घरेलु औषधीको प्रयोग नगर्न पनि सुझाव दिनु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button