लम्पीस्किन प्रकोपका कारण चितवनमा दूध उत्पादन घट्यो

चितवन । लम्पी स्किन प्रकोपका कारण चितवनमा दूध उत्पादनमा गिरावट आएको छ । दैनिक सबै गरी ३ लाख लिटरको हाराहारीमा दूध उत्पादन हुने चितवनमा हाल दुग्ध सहकारीमा मात्रै दैनिक १६ हजार लिटर दूध सङ्कलनमा कमी आएको हो ।
चितवनमा ११५ वटा दुग्ध सहकारीबाट दूध सङ्कलन हुने गरेको छ । अन्य पशुभन्दा गाई र भैँसीमा यो रोग बढी देखिएकोले दूध उत्पादनमा गिरावट आएको किसानहरूको भनाइ छ ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले चितवनमा लम्पी स्किन रोगको प्रकोप तीव्र रुपमा फैलिन नपाउँदा क्षति धेरै हुन नपाएको बताउनुहुन्छ । ‘चितवनमा पशु प्राविधिक , चिकित्सकको पहुँच पनि धेरै छ । किसान पनि बढी सचेत छन् , उहाँले भन्नुभयो, जसका कारण पशु मृत्युको सङ्ख्या बढ्न पाएन ।’ लम्पी स्किन दूध उत्पादक र दूध उत्पादन नहुने पशु दुबैमा भएपनि दूध उत्पादन गर्ने पशुको बढी स्याहार सुसार गरिएकोले क्षति कम भएको उहाँको भनाई छ ।
चितवनका दुग्ध सहकारीहरूमा सङ्कलन भएको दूध काठमाडौँ, पोखरा, हेटौँडालगायतका सहरमा निर्यात हुन्छ । उहाँले भन्नुभयो , ‘दैनिक डेढ लाख लिटर दूध चितवनबाट बाहिरी जिल्लामा निर्यात भइरहेको थियो, तर अहिले एक लाख ३४ हजार लिटर दूध बाहिरी जिल्लामा गइरहेको छ ।’ रोग प्रकोपमा कमी नआए दूध उत्पादनमा अझै गिरावट आउने बगालेले बताउनु भयो ।
दूध उत्पादनको प्रचुर सम्भावना चितवनमा भएपनि कोरोना कहरपछि गाईभैँसी फर्महरू नथपिएको र भएका गाईभैँसी फर्महरू पनि बन्द भएको उनले बताए । ‘एकातिर समयमै भुक्तानी पाइएको छैन, अर्कोतिर लम्पी स्किन रोगले किसान दोहोरो मारमा छन् ।’ अध्यक्ष बगालेले भन्नुभयो ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनकी सजना राईले चितवनमा लम्पी स्किन पूरा नियन्त्रणमा नआए पनि फैलिनबाट भने रोकिएको बताइन् । ‘सातवटा पालिकाहरूमा भ्याक्सिनहरू चलाएका छौँ, यो रोग नियन्त्रण उन्मुख नै छ । क्षतिको दर पनि कम भएको पाएका छौँ ।’ राईले भन्नुभयो ।
लम्पी स्किनका कारण दूध उत्पादनमा गिरावट आउने उहाँले बताउनु भयो । ‘ संक्रमण हुनुभन्दा पहिला गाई भैँसीले जति दूध दिन्थ्यो त्योभन्दा लम्पी स्किन भएपछि उत्पादन धेरै नै घट्छ ।’ उहाँले भन्नुभयो । लम्पी स्किन निको भए पनि फेरि पहिलेको अनुपातमा दूध दिन गाई भैँसीलाई समय लाग्ने विज्ञहरुको भनाई छ ।
पछिल्लो तथ्याङ्क अनुसार चितवनमा ११ हजार पशुमा लम्पी स्किन संक्रमण देखिएकोमा करिब ३०० वटा दूध उत्पादक पशुको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्