तपाईँ सुन्दै हुनुहुन्छः

जङ्गली जनावरका कारण मकै बाली सखाप

बैतडी । बैतडी जिल्लाको अधिकांश भेगमा लगाइएको मकै बाली जङ्गली जनावरले सखाप पारी दिँदा किसानहरू चिन्तित भएका छन् ।

जङ्गल बँदेल, बाँदर र दुम्सी लगायतका जनावरहरूको हुल मकैवारिमा पसी रातारात सखाप पारी दिँदा कृषकहरूमा निराशा छाएको हो ।

वैकल्पिक अन्नबाली नहुने अधिकांश भेगमा मकैवालीलाई मुख्य आधार मान्दै आएका ग्रामीण भेगमा फसल भित्र्याउने बेलामा जङ्गली जनावरको आहारा बने पछि आफूहरूले बेसाहा खोज्नु पर्ने अवस्था सृजना भएको कृषकहरू बताउँछन् ।

आफूले २० रोपनी जग्गामा मकैखेती गरे पनि पाक्ने वेलामा दुम्सी र बाँदरले सिद्ध्याई दिँदा पशुहरूको आहारा बनाउनु पर्ने अवस्था सृजना भएको पाटन नगरपालिका वडा नं. ८ तिमलेका कृषक गगन सिंह ऐर बताउनु हुन्छ ।

उहाँ जस्ता हजारौँ कृषकहरूले लगाएको मकैवाली जङ्गली जनावरले सिद्ध्याई दिँदा आफूहरूले राहतका लागि स्थानीय तह गुहार्नु परेको पुर्चौडी नगरपालिका वडा नं. ७ कुवाकोटका कृषक नरबहादुर कुँवर दुखेसो पोख्छन् ।

जङ्गली जनावरको क्षतिको मूल्याङ्कन गरि उचित राहत दिनका लागि बन मन्त्रालयले डिभिजन वन कार्यालयलाई परिपत्र गरेपनि सर्जमिन मुचुल्का समेत नगरी दिएको पाटन नगरपालिका वडा नं.६ हिरापुरकी कृषक अनिता कठायत बताउनु हुन्छ । साथै नगरपालिकाले बन डिभिजन र बन डिभिजनले नगरपालिकालाई परिपत्र गर्दा आफूहरू अन्योलमा परेको समेत उहाँ बताउनु हुन्छ ।

बैतडी जिल्लाको कुल खेती योग्य जमिन २५ हजार ७ सय हेक्टर मध्ये १२ हजार २ सय हेक्टरमा मकैवाली लगाइने गरेको कृषि ज्ञान केन्द्र बैतडीको तथ्याङ्क रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button