तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पाको पूर्वी क्षेत्रमा अवरुद्ध भएको टेलिफोन सेवा घाम लागेपछि मात्र सञ्चालनमा आउने 

रोल्पा । रोल्पाको पूर्वी क्षेत्रमा ५ दिनदेखि अवरुद्ध भएको टेलिफोन सेवा मौसममा सुधार भएर घाम लागेपछि मात्र सञ्चालनमा आउने भएको छ । लगातार भइरहेको वर्षाको कारण घाम नलाग्दा सोलार प्यानलबाट ब्याट्री चार्ज  हुन नसक्दा सुनछहरी गाउँपालिका वडा नम्बर १ को सेरम, वडा नम्बर २ को भित्रीगाम, वडा नम्बर ३ को बाहिरीगाम र थबाङ गाउँपालिका वडा नम्बर ४ र ५ को उवामा टेलिफोन अवरुद्ध भएको नेपाल टेलिकम तुलसीपुर दाङले बताएको छ । 

टेलिफोन अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् अति आवश्यक फोन, इन्टरनेट मार्फत खबर आदानप्रदान हुन सकेको छैन सुनछहरी गाउँपालिका अध्यक्ष धन बहादुर पुनले बताउनुभयो ।

सेरमको दहबाङमा रहेको नेपाल टेलिकमको टेलिफोन टावरबाट गामको गोङबाङमा रहेको टेलिफोन टावर र थबाङ गाउँपालिका वडा नम्बर ४ थर्पुमा रहेको टेलिफोन टावरमा वायरलेस लिङ्क गरिएको छ भने सेरमको टावरमा समस्या आएपछि अन्य दुवै टावरले काम नगर्ने हुँदा फोन सेवा अवरुद्ध हुन्छ ।

सेरम, गाम र थर्पुको टावर सञ्चालनको लागि विद्युत् बिस्तार नभएकोले सोलारबाट मात्र टेलिफोन टावर सञ्चालन गरिएको छ पानी पर्दा, बादल र कुहिरो लाग्दा सोलारले चार्ज गर्न सक्दैन त्यही भएर फोन सेवा अवरुद्ध हुन्छ र घाम लागेपछि उक्त समस्या समाधान हुने कुरा नेपाल टेलिकम तुलसीपुर दाङका इन्जिनियर दिपक खनालले बताउनुभयो ।

साथै सेरममा रहेको टावरमा थप १ हजार एमपीएरको ब्याट्री ब्याकपको व्यवस्था गरेर बर्खाको समयमा नियमित फोन सेवा सुचारु गर्ने तयारी भएको भएता पनि पोबाङ र सेरमको बिचमा ठुलो खोला भएकोले ब्याट्री लाई गाडीबाट लिएर टावरमा लैजान नसकिएको अवस्था छ, त्यही भएर मौसममा केही सुधार भएपछि पोबाङबाट सेरमको टावरसम्म मान्छेमार्फत ब्याट्री बोकाएर भएपनी जडान गरी सञ्चालनमा ल्याउँछौ  इन्जिनियर खनालले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button