अब उपचार नपाएर कोही पनि मर्नुपर्दैन : मन्त्री बस्नेत
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले कोही नेपालीले पैसा नभएका कारणले उपचार गर्न नसकेर मृत्युवरण गर्न नपर्ने बताउनुभएको छ ।

विश्व अङ्ग प्रत्यारोपण दिवसको अवसरमा लिभर फाउण्डेशन नेपालद्वारा आयोजित अन्तरक्रियामा उहाँले भन्नुभयो “पैसा नभएकै कारण उपचार नपाएर कुनै पनि व्यक्ति मर्नु पर्दैन, त्यसको जिम्मा म लिन्छु, राज्यले लिन्छ, हामी निजी वा सरकारी जुनसुकै अस्पतालमा पनि १० प्रतिशत शय्यासहित निःशुल्क गर्ने कुरा अहिले कार्यान्वयन भइरहेको छ ।”
सो निःशुल्क व्यवस्था लागु भएको दुई÷तीन महिनाको अवधिमा सयौँ बिरामीले छुटका साथ उपचार गराइसकेको उहाँको भनाइ छ । सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकता दिएको बताउँदै उहाँले सरकारी विद्यालय र सरकारी अस्पताललाई सुधार गरेर लैजानुपर्नेमा जोड दिनुभयो । मन्त्री बस्नेतले हाल बिहान ८ बजेदेखि वीर अस्पताल लगायत सरकारी अस्पतालमा ओपिडी सेवा सुरु भएको बताउँदै अहिले वीर अस्पतालमा सात सय जनरल शय्या निःशुल्क गरिएको जानकारी दिनुभयो ।
उहाँले सीमित स्रोत साधनका बाबजुद पनि धेरै ठाउँका स्वास्थ्य केन्द्रले आफ्नो काममा सुधार गर्दै लगेको बताउँदै मिर्गौला प्रत्यारोपणकै सवालमा सम्भव भएका सबै ठाउँमा ‘राइट म्यान राइट पोष्ट’को अवधारणा सुरु गरेको जानकारी दिनुभयो ।
नेपालका अति विशिष्ट र विशिष्ट व्यक्तिको उपचार नेपालै गर्नुपर्ने उद्देश्यअनुसार १७ जना वरिष्ठ चिकित्सकको समूह बनाएर अध्ययन सुरु गरिएको उहाँको भनाइ छ ।
पूर्व सभामुख तारानाथ रानाभाटले समग्र स्वास्थ्य क्षेत्रको सुधारका निम्ति सरकारलाई आग्रह गर्नुभयो ।
फाउण्डेशनका अध्यक्ष उमेशजङ्ग रायमाझीले कलेजोसँग सम्बन्धित रोगको निम्ति पनि सरकारले छुटको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्