भ्रष्टाचार न्यूनीकरण गर्न संरचनागत समिति चाहिन्छ : डा भट्टराई
कैलाली । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले भ्रष्टाचार न्यूनीकरणका लागि संरचनागत रूपमै उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताउनुभएको छ ।

कैलालीको टीकापुरमा पत्रकारसँगको छलफलमा पूर्वप्रधानमन्त्री भट्टराईले संरचनागत रुपमा समिति बनाउन सके त्यसले सानाठूला सबै भ्रष्टाचारका घटना बाहिर आउने र त्यसको वास्तविक छानबिन हुने भएकाले पनि समिति आवश्यक रहेको बताउनुभयो ।
सरकारले भ्रष्टाचारका विषयमा केही आशा लाग्दा काम गरेको भन्दै डा भट्टराईले सन्तुष्ट भइहाल्नुपर्ने स्थिति भने नरहेको बताउनुभयो । ललिता निवास जग्गा प्रकरणको प्रसङ्गमा डा भट्टराईले कानुनले दोषी ठहर गरेमा आफू कारबाही भोग्न तयार रहेको बताउँदै छानबिन निष्पक्ष हुनुपर्ने बताउनुभयो ।
उहाँले लोकतान्त्रिक गणतन्त्रको जगमा रहेर समाजवादको दिशामा अगाडि बढ्नु अबको आवश्यकता भएको बताउनुभयो । पूर्व प्रधानमन्त्री भट्टराईले देशलाई अग्रगामी निकासका लागि सङ्गठन निर्माण अभियानलाई सुदृढ बनाउँदै नागरिकलाई त्यसको विकल्पका लागि तयार रहन आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्