कांग्रेस संसदीय दलको बैठक : सत्ता समीकरण फेरबदलबारे छलफल भएन

काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको दोस्रो दिनको बैठकमा आज ३१ जना सांसदहरुले आ-आफ्नो धारणा राख्नुभएको छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले बैठकमा सांसदहरुले आ–आफ्नो धारणा राख्ने क्रम जारी रहेकोले भोलि पनि बैठक बस्ने र निर्णयमा पुग्ने जानकारी दिनुभयो ।
प्रमुख सचेतक लेखकले बैठकमा सरकारका काम–कारबाही तथा अन्य विभिन्न समसामयिक विषयमा छलफल भएपनि सत्ता समीकरण फेरबदलबारे भने छलफल नभएको बताउनुभयो ।
यस्तै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सांसद रामहरि खतिवडाले बैठकमा संसद्को अवरोध, संसदमा विचाराधिन विधेयकहरू, बाढी पहिरो, पशु चौपायामा देखिएको लम्पिस्किन महामारी लगायतका विषयमा कुरा भएको बताउनुभयो ।
नेपाली काँग्रेस संसदीय दलको हिजो र आजको बैठकमा गरी जम्मा ५० जना सांसदहरूले आफ्नो धारणा राखिसक्नुभएको र पदाधिकारीहरूले बोल्न बाँकी रहेको पनि सांसद खतिवडाले बताउनुभयो ।
नेपाली काँग्रेस संसदीय दलको बैठकबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीको प्रश्नमा अर्थमन्त्री समेत रहनुभएका काँग्रेस नेता डा. प्रकाशशरण महतले अनावश्यक रुपमा सुन प्रकरणमा आफूलाई जोड्नु गलत भएको भन्दै त्यसलाई सत्य सावित गरेर देखाउन चुनौती दिनुभयो ।
अर्थमन्त्री डा महतले आफूलाई लगाएको आरोप प्रमाणित भए आफु पद त्याग्न समेत तयार रहेको स्पष्ट पार्नुभयो । नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि बिहान ११ बजे पुनः बस्ने नेपाली काँग्रेसले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्