खजुरा सडक खण्डको ठेक्का तोडियो, कम्पनीलाई कालोसूचीमा राख्न माग

बाँके । बाँकेको खजुरा तथा बर्दियाको गुलरिया सडक खण्डमा निर्माणाधीन सडकको ठेक्का सम्झौता सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय नेपालगञ्जले तोड्ने निर्णय गरेको छ । पटक पटक म्याद थप गर्दापनि ठेकेदार कम्पनीले सडकको काम सम्पन्न गर्ने तदारुकता नदेखाएपछि डिभिजन कार्यालय नेपालगञ्जले ठेक्का सम्झौता तोडेको हो ।
तीन पटक म्याद थप र त्यस यता पनि लगातार विभिन्न सुविधा दिएर काम गर्ने अवसर दिँदा पनि ठेकेदार कम्पनी गजुरमुखी कन्ट्रक्सनबाट काम हुन नसकेपछि सम्झौता तोडिएको सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख निरज शाक्यले जानकारी दिनुभयो ।
स्थानीयबाट लामो समयदेखि काम नगर्ने ठेकेदारसँगको सम्झौता तोडेर नेपालगञ्ज बर्दिया सडक निर्माण गरिरहेको शर्मा एण्ड कम्पनीलाई काम सुम्पन आग्रह गर्दै आएका थिए । ठेक्का सम्झौता तोडिएको खबरले आफु खुसी भएको बताउँदै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिकले अबको बाँकी काम सडक विभागको निगरानीमा शर्मा एण्ड कम्पनीबाट गराउन आग्रह गर्नुभयो । काम नगर्ने ठेकेदारसँगको सम्झौता रद्द गर्न माग गर्दै गाउँपालिकाले पटक पटक डेलिगेशन गएको स्मरण गर्दै त्यस्ता ठेकेदारलाई कालोसूचीमा लैजान ढिला गर्न नहुने उहाँले बताउनु भयो ।
डिभिजन प्रमुख शाक्यले पनि अव ठेकेदार कम्पनीलाई कालोसूचीका लागि सिफारिस गर्ने बाटो खुलेको बताउनुभयो। उहाँले सम्झौता तोडिएकाले ठेकेदारले राज्यलाई पुर्याएको क्षतिको एकिन गरि असुल गरिने र बाँकी प्रक्रिया अगाडि बढ्ने बताउनु भयो ।
“सम्झौताअनुसार प्रतिदिन शून्य दशमलव शून्य पाँच प्रतिशतका दरले हर्जाना लगाएर काम सुरु भए पनि सन्तोषजनकरूपमा निर्माण कार्य अघि नबढेपछि सम्झौता तोड्नु सिवाय अरू केही नरहेको डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख इञ्जीनियर शाक्यले बताउनु भयो। काम सन्तोषजनकरूपमा अघि नबढेपछि पछिल्लो समय पेश्कीस्वरुप उपलब्ध गराइएको रकमसमेत बैङ्कबाट फिर्ता ल्याइएको थियो ।
बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर र बर्दियाको गुलरियामा दुई हजार दुई सय मिटर लम्बाइको सडक निर्माणका लागि रु २१ करोड ४९ लाखमा सम्झौता भएको थियो ।
सडक निर्माणका लागि पटक–पटक ताकेता गर्दा पनि काम शुरु नभएपछि सरोकारवाला निकाय सडक डिभिजनलाई ठेक्का सम्झौता तोडेर सोही खण्डमा काम गरिरहेको शर्मा एण्ड कम्पनीबाट सडक निर्माणका लागि पहल गरिदिन आग्रह गरिएको पालिका अध्यक्ष विकले बताउनुभयो ।
बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर लम्बाइको चार लेन सडक २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले निर्माण थालेको थियो । उक्त सडक २०७७ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर हालसम्म तीनपटक म्याद थप भए पनि काम सन्तोषजनकरूपमा अघि बढ्न नसकेपछि ठेक्का सम्झौता ताडेर कालो सूचीमा राख्न नागरिकस्तरबाट माग हुँदै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्