तपाईँ सुन्दै हुनुहुन्छः

अधिकारको सवालमा सबै आदिवासी एक हुनुपर्छ : मन्त्री मोदी

विराटनगर । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले अधिकारको सवालमा सबै आदिवासी जनजाति समुदाय एक हुनुपर्ने बताउनुभएको छ ।

विराटनगरमा आज नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजको २४ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले राज्यका हरेका निकायमा आफूलाई स्थापित गर्न आदिवासी जनजाति समुदायलाई आग्रह गर्नुभयो ।

आदिवासी जनजाति महासङ्घमा विभिन्न जातीय समुदायको सहभागिता रहेकाले अधिकारका लागि महासङ्घभित्र रहेका सबै समुदायबिच एकता आवश्यक रहेको उहाँले बताउनुभयो ।

उहाँले पहिचान सहितको सङ्घीयताले सबै जातजाति, समुदायको प्रतिनिधित्व गर्ने भएकाले निर्वाचनको समयमा पहिचानवादी शक्ति चिनेर जनताले आफ्नो मतको सदुपयोग गर्नुपर्ने उल्लेख गर्नुभयो ।

मन्त्री मोदीले सङ्घीय निजामती ऐन मन्त्रीपरिषद्मा पठाइसकिएको र चाँडै कार्यान्वयनमा आउने बताउनुभयो ।

त्यस अवसरमा फोनिजको राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पाँच र प्रदेश पहिचान पुरस्कारबाट दुई जना पत्रकारलाई नगदसहित सम्मान गरिएको थियो ।

राष्ट्रिय पत्रकारिता पुरस्कारबाट दिलीप थापा मगर, किशन राई, जीवन लामा, देवपचपैया मगत तथा उन्नति चौधरी र प्रदेश पहिचान पुरस्कारबाट विदुर खवास र सुजाता लिम्बुलाई पुरस्कृत गरिएको थियो । सो अवसरमा फोनिजको स्मारिका समेत विमोचन गरिएको थियो ।

कार्यक्रम नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजका केन्द्रिय अध्यक्ष गजुरधन राईको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button