झापामा डेंगुको प्रकोप बढ्दो, औषधि व्यवसायीसहित तीन जनाको मृत्यु
झापा । साउनयता तीव्र रुपमा फैलिरहेको डेंगु सङ्क्रमणबाट झापामा एक जना औषधि व्यवसायीसहित तीन जनाको मृत्यु भएको छ ।
डेंगुको संक्रमण बढी देखिएको बिर्तामोडमा दुई र दमकमा एक जनाको मृत्यु भएको हो । साउनको पहिलो साता बिर्तामोड– ५ की ४४ वर्षिया मदिना खातुनको डेंगु सङ्क्रमणबाट मृत्यु भएको थियो । डेंगु पुष्टि भएको भोलिपल्ट उनको मृत्यु भएको थियो । त्यस्तै साउन १९ गते डेंगु सङ्क्रमणबाट बिर्तामोड ५ कै ४४ वर्षीय रविचन्द्र लावतीको मृत्यु भयो भने दमकमा पञ्चमुखी फर्मा सञ्चालन गर्दै आएका औषधि व्यवसायी ६८ वर्षीय ऋषिराज पराजुलीको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जानकारी दिनुभयो ।
झापामा संक्रमितहरु तीव्र रुपमा बढ्ने क्रममा साउन २६ गतेसम्म सङ्क्रमितको सङ्ख्या ७३९ पुगेको छ । ३१९ महिला र ४२० जना पुरुष संक्रमित भएका हुन् । त्यसमध्ये सबैभन्दा बढी संक्रमित दमकमा देखिएका छन् । दमकमा ४४४ जना संक्रमित पुगेका छन् । त्यसपछि बिर्तामोडमा सङ्क्रमितको सङ्ख्या १७७ पुगेको छ ।
जिल्लाको सदरमुकाम भद्रपुरलगायत बुद्धशान्ति, मेचीनगरमा डेंगु संक्रमण देखिएको छ । ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा डेंगु बढी फैलिएको छ । गौरीगञ्ज, बाह्रदशी, हल्दिवारी र कचनकवलमा भने हालसम्म डेंगु संक्रमण नदेखिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले बताउनुभयो ।
जिल्लाका विभिन्न अस्पतालमा १४० जना डेंगु संक्रमित भर्ना भएका छन् । त्यसमध्ये ९९ जना निको भएर घर फर्किएको र ४१ जना उपचाररत रहेको जनस्वास्थ्य निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्