यस्तो छ रुकुम पूर्वमा मकै राख्ने तरिका (फोटो फिचर)

रुकुम पश्चिम । बारीमा उब्जनी भएको अन्नबालीहरू कसरी राखिन्छ ? धेरै ठाउँमा बारीबाट ल्याएर बालीलाई घरभित्र सुरक्षित तरिकाले राखिन्छ । तयार पारिएको अन्नपात भकारी, बोरा वा अन्य कुनै साधनमा राखेर बन्द गरिन्छ । अनि आवश्यक परेको बेलामा मात्र भकारी वा बोराबाट तानेर पिँध्ने वा अन्य प्रक्रिया अपनाएर विभिन्न परिकार बनाएर खाने गरिन्छ ।

तर रुकुम पूर्वमा भने कमै राख्ने तरिका फरक छ । जहाँ आफ्नो बारीमा उत्पादन भएको सबै मकै घर बाहिर वा करेसाबारीमै राख्ने गरिएको छ ।

गाउँका प्रत्येक घर अगाडि वा करेसाबारी जताततै मकैको थुप्रो नै हुन्छ । गाउँमा बाहिर राखिएको सयौँ मुरी मकै चोरी हुने, कुहिने वा अन्य प्रकारले क्षति हुने कल्पना समेत स्थानीयहरूले गर्दैनन् । सबै उत्पादित मकै बाहिरै राखिएको हुन्छ र आवश्यक परेको खण्डमा मात्र तान्ने र खाने गरिएको छ ।

रुकुम पूर्व भूमे गाउँपालिका काँक्रीका स्थानीय सुनप्रसाद बुढाका अनुसार मकै यसरी बाहिरै राख्ने चलन पहिले देखि चल्दै आएको बताउनुभयो ।

रुकुम पूर्वका काँक्री, कोल, तकसेरा, सिमा, रन्मामैकोट र हुकाम लगायतका गाउँहरूमा मकै यसरी बढी राखिन्छ । बर्षेबाली मकै राम्रो उत्पादन हुन्छ तर गहुँ लगायतका अन्य बालीहरू खासै हुदैनन ।
जसका कारण उत्पादन भएको मकै वर्षभरिको लागि जोह गरिन्छ । हिजो आज सडक यातायात तथा बजार बिस्तार भएर चामल लगायतका खाद्यान्न समेत पुगेका कारण मकैको ढिँडो सँगै भात खाने प्रचलन पनि बढ्दै गएको छ ।

रुकुम पूर्व हिमाली जिल्ला समेत भएका कारण त्यस क्षेत्रमा रुकुम पश्चिमको तुलनामा निकै चिसो मौसम हुने गरेको छ ।
रुकुम पूर्व लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला हो ।








प्रतिक्रिया राख्नुहोस्