बहिरा विद्यार्थी अध्ययन गर्ने एक मात्रै क्याम्पस विद्यार्थी आर्थिक सङ्कटमा
सामान्य विद्यार्थीको झैँ मूल्याङ्कन र परीक्षा प्रणाली हुँदा समस्या

काठमाडौँ I एक दशकअघि स्थापन भएको नक्सालस्थित बहिरा क्याम्पस बहिरा विद्यार्थीले अध्ययन गर्ने एक मात्रै क्याम्पस हो । जहाँ सरकारको सहयोग नहुँदा विद्यार्थीहरूलाई पढ्न र पढाउन पनि कठिन पर्दै आएको छ ।
बहिरा माध्यमिक विद्यालयको माथिल्लो तलामा स्नातक तह प्रथम वर्षका विद्यार्थीहरू ध्यान दिएर ब्लाकबोर्डतिर हेरिरहेका छन् । कक्षाकोठामा शिक्षक सीता घिमिरे गजुरेल करिब ४० जना विद्यार्थीलाई साङ्केतिक भाषामा पढाइरहनुभएको छ । उहाँले क्याम्पसको तल्लो तलामा रहेको विद्यालयमा आउने बहिरा बालबालिकालाई अक्षर चिनाउनेदेखि स्नातक तहसम्म यसरी नै पढाउन थाल्नुभएको १२ वर्ष बित्यो । यसरी साङ्केतिक भाषामा सञ्चार गरेका भरमा स्नातक तहसम्मको अध्ययन गर्नु चानचुने कुरा होइन । उहाँका अनुसार साङ्केतिक भाषामा पाँच हजारभन्दा बढी शब्द नभएकाले पढाउँदा सञ्चार गर्न कठिन हुन्छ । जे पढाउने हो त्यो चिज देखाएर अक्षर चिनाएपछि केही पनि नजान्ने विद्यार्थीले ३ महिनामा नतिजा दिन सक्ने सीता घिमिरे गजुरेलले बताउनुभयो । भात खाऊ भनेर सिकाउन भात खाएरै देखाउनुपर्ने उहाँ बताउनुहुन्छ ।

त्यसो त केन्द्रीय बहिरा क्याम्पस नेपालको एक मात्र बहिरा क्याम्पस हो जहाँ जनसङ्ख्या शिक्षालाई मुख्य र नेपालीलाई सहायकको रूपमा पढाइन्छ । अन्य सङ्काय तथा विषयको आवश्यकता महसुस भए पनि आर्थिक अभावका कारण सञ्चालन हुन सकेको छैन । नक्सालको बाहिर माध्यमिक विद्यालयका साथै सिन्धुली, कास्की, वाग्लुङ, मोरङ र झापामा रहेका बहिरा विद्यालयहरूमा कक्षा १२ सम्म पढेका विद्यार्थीहरू नै यस क्याम्पसमा भर्ना आइपुग्छन् तर अरू सामान्य विद्यार्थीको झैँ मूल्याङ्कन र परीक्षा प्रणाली भएकाले उनीहरूलाई उत्तीर्ण हुनचाहिँ गारो पर्ने रहेछ । त्यसैले स्नातक तहको पढाई सुरु भएको १० वर्षको अवधिमा यस क्याम्पसमा ३ सय ५९ बहिरा विद्यार्थी स्नातक तहमा भर्ना भएका छन् । त्यसमध्ये जम्मा ४० जनाले मात्रै स्नातक तहको पढाई पूरा गरेको क्याम्पसका प्रमुख ऋषिराम देवकोटा बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयबाट २०७० सालमा निःशुल्क सम्बन्धन प्राप्त यस सामुदायिक क्याम्पसले त्यसै सालदेखि बहिरा मैत्री वातावरणमा अध्यापनको व्यवस्था मिलाई उनीहरूलाई विभिन्न क्षेत्रमा रोजगारीका लागि सक्षम शैक्षिक जनशक्तिका रूपमा उत्पादन गर्दै आएको छ । यहाँ शिक्षालाई मुख्य विषय बनाइ जनसङ्ख्या र नेपालीलाई सहायकको रूपमा पढाइन्छ । बहिरा विद्यार्थीले अन्य सङ्काय तथा विषय पढ्न चाहेको भए पनि आर्थिक व्यवस्थापन स्रोत नहुँदा सञ्चालन हुन सकेको छैन । क्याम्पसमा आठ जना शिक्षकले अध्यापन गर्दै आएका छन् । पूर्णरुपमा निःशुल्क शिक्षा प्रदान गर्ने यस क्याम्पसमा पढ्ने विद्यार्थीलाई दिउँसो रोजगारीमा संलग्न हुन सजिलो होस् भनेर सन्ध्याकालीन कक्षाहरूको प्रबन्ध गरिएको तर छोटा दिनहरूमा कक्षा सकेर घर फर्कन विद्यार्थीलाई समस्या पर्ने गरेको क्याम्पसका प्रमुख देवकोटाले बताउनुभयो ।

हाल केन्द्रीय बहिरा माध्यमिक विद्यालये भवनको एक फ्ल्याट भाडा लिएर सञ्चालित यो क्याम्पसले आफ्नै जग्गा र भवनमा आवासीय सुविधासहितको प्राविधिक विषयहरूको समेत अध्यापन गराउँदै क्याम्पसलाई बहिरा विश्वविद्यालयका रूपमा विस्तार गर्दै अन्तर्राष्ट्रियस्तरमा विकास गराउने लक्ष्य लिएको छ । विश्वविद्यालय अनुदान आयोगको वार्षिक करिब रु १५ लाख सहयोगमा सञ्चालित क्याम्पसका शिक्षक–कर्मचारीलाई न्यूनतम पारिश्रमिक दिन पनि धौधौ परिरहेको छ । देशभरका बहिरा विद्यार्थीले उच्च शिक्षा लिने एक मात्र क्याम्पसलाई सरकारले विशेष अनुदानसहित व्यवस्थित बनाउनु जरुरी छ ।








प्रतिक्रिया राख्नुहोस्