प्राधिकरणको निर्देशनले मुगुवासीलाई सास्ती
मुगु । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत साउन महिनाको दोस्रो साता बाट देशका ३० वटै विमान स्थलहरूमा दिउँसो १२ बजे पछि उडान भर्न रोक लगाउने निर्णय गरेपछि त्यस निर्णयले सबै भन्दा बढी दुर्गम जिल्लामा रहेका यात्रुहरू मर्कामा परेका छन् ।
बर्सातकाे समयमा हवाई दुर्घटना हुन सक्ने भन्दै नागरिक उड्डयन प्राधिकरणले साउन १४ गतेबाट दिउसो १२ बजे देखि लागु हुने गरी तिन महिनासम्म रोक लगाउने निर्णयले नेपालगञ्जबाट दैनिक उडान हुने रारा लगायत कर्णालीका अन्य जिल्लाका यात्रुहरू मर्कामा परेका हुन ।
हवाई यात्राबाट नेपालगञ्ज पुग्ने यात्रुहरू रारा विमान स्थलमा हवाई जहाजको पर्खाइमा बसेको ८ दिन भएको छ । बिहान मौसम नखुले पनि दिउसो १२ बजे पछि आकाश खुल्ला हुन्छ । तर, नागरिक उड्डयन प्राधिकरणको निर्णयले १२ बजे पछि उडान गर्न मिल्दैन । आफ्नो टा«भल्सबाट तारा एयरलाइन्स नेपालगञ्ज जाने ४३ जना यात्रुहरू टिकट लिएर विमान स्थलमा जहाजको पर्खाइमा बसेको ८ दिन भएको छ । प्रत्येक दिन १२ बजे पछि रारा विमान स्थल आसपासको मौसम सफा हुने भए पनि तीन महिनासम्मका लागि १२ बजे पछि उडान भर्न रोक लगाए पछि सबै भन्दा बढी बिरामी र यात्रुहरू मर्कामा परेको हेभन रारा ट्राभल्सका बजार व्यवस्थापक सोभबहादुर भाम बताउनु हुन्छ ।

मुगु कार्मारोङ गाउँपालिका पुलु स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी हिमा बुढाको सात महिनाको गर्भ छ । उनको नाक भित्र मासु पलाएर सास फेर्न गारो भएपछि उपचारका लागि नेपालगञ्ज जान रारा विमान स्थल आएको ८ दिन भयो । गाउँपालिकाले २० दिनलाई मात्र बिदा दिएको छ । पाँच दिन रारा विमान स्थलमा सकिसकेको छ । जहाजको पर्खाइमा बस्दा बस्दै उपचार गर्न नपाई सबै बिदा यतै सकिने चिन्ता लागेको बुढाले दुखेसो व्यक्त गर्नुभयो ।
दिउँसो १२ बजे भन्दा पछि .उडान भर्न रोक गर्ने नागरिक उड्डयनको निर्णय हुनु भन्दा पहिला रारा विमान स्थलमा नेपालगंजबाट सिता, समिट, तारा एयरलाइन्सले दैनिक दुई देखि ३ तीन उडान भर्दै आएका थिए । नेपाल एयरलाइन्सले हप्तामा दुई दिन उडान गर्ने गरेको थियो । ८ दिनदेखि रारा विमान स्थलमा कुनै जहाजले उडान भर्न सकेका छैनन् । रारा विमान स्थलको मौसम १२ बजे पछि खुल्ला हुने गर्छ । प्राधिकरणको निर्णयले १२ः ३० भित्र जहाज उडिसक्नु पर्ने हुन्छ । तर रारा विमान स्थलको लागी यो निर्णय उपयुक्त नभएको रारा नागरिक उड्डयन कार्यालय ताल्चाका प्रमुख रोमान भट्टराईले भन्नु भयो ।
लामो समय जहाज उडान नहुँदा सडक यातायात मार्फत आफ्नो गन्तव्यमा पुग्ने भएपनि बर्सातको समय पहिरोले ठाउँ ठाउँमा सडक अवरुद्ध हुने भएका कारणले सबै जना जहाजको पर्खाइमा हुन्छन् । कुनै बिरामीलाई तत्कालै उद्धार गरेर हेलिकोप्टर वा जहाजबाट सुविधा सम्पन्न स्थान लैजानु पर्ने हुन्छ । यो निर्णयले सर्बसाधरण मर्कामा परेको छाँयानाथ रारा—१० का दिर्ग बुढाले बताउनु भयो ।
रारा विमान स्थल लगायत अन्य विमान स्थलका लागी गरिएको यो निर्णयलाई संशोधन गर्न माग गदै संघीय पर्यटन मन्त्रिलाई ज्ञापन पत्रसहित सुझाव दिएको र प्रधानमन्त्री समेत यो विषयमा छलफल गर्नका लागी प्रयास गरिरहेको पर्यटन उद्यमी समाजका अध्यक्ष देबिकृष्णा रोकायाले जानकारी गराउनु भयो ।
कर्णाली राजमार्ग नाम मात्रको राजमार्ग छ, यो सडकमा सडक मापदण्डका कुनै संरचनाहरू छैनन् । वर्षाको समयमा कर्णाली राजमार्ग कति जोखिम छ भनेर साध्य छैन । यो राजमार्गमा हत्केलामा ज्यानको बाजी राखेर यात्रा गर्नु पर्छ । विश्वमा ९९ प्रतिशत यात्रा सुरक्षाको ग्यारेन्टी रहेको हवाई उडानमा यात्रा गर्न सबै यात्रु चाहन्छन् तर रारा विमान स्थल सहित ३० विमान स्थलमा मौसमको कारण देखाउँदै सम्भावित दुर्घटनाबाट जोगाउन भन्दै प्राधिकरणले गरेको निर्णयले दुर्गमका जनता झन् पीडामा परेका छन् । एयर्रपोटमा दिउँसो उडान हुँदा बिहानै घरबाट हिँडेर विमानस्थलसम्म पुग्ने गरेका ग्रामीण क्षेत्रका मानिसहरूलाई प्राधिकरणको निर्णयले खर्चसमेत बढाएको छ । बिहानै उडान हुने भएपछि अघिल्लो दिन मै बजारमा आएर बस्नु पर्ने बाध्यता छ, नेपाल पत्रकार महासङ्घका अध्यक्ष नृपेन्द्र बहादुर मल्ल बताउनुभयो ।
हवाई जहाजलाई मात्र होइन प्राधिकरणको निर्णय हेलिकप्टरलाई समेत लागु हुने भएकाले दिउसो १२ बजे पछि हुने घटना,दुर्घटना र विपदमा परेका नागरिकलाई समेत हेलिकप्टरबाट उद्धार गर्न पाईने छैन । सडक सञ्जालसँग नजोडिएका जिल्ला तथा गाँउहरुमा हुने विकास निमार्णका सामानहरू हेलिकप्टरको माध्यमबाट ओसार्दै आएकोमा अब दिउँसो ओसार्न पाईने छैन । यस हिसाबले सबै तिरबाट दुर्गम तथा ग्रामीण क्षेत्रका जनता नै प्राधिकरणको निर्णयबाट सबै भन्दा बढी प्रभावित भएको गुनासो छ ।








प्रतिक्रिया राख्नुहोस्