तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा बाढी र डुबानका कारण ३ हजार ४ सय घरपरिवार प्रभावित

धनगढी । कैलालीमा बाढी र डुबानका कारण ३ हजार ४ सय घरपरिवार प्रभावित भएका छन् । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार बाढी र डुबानका कारण जिल्लाको दक्षिणी क्षेत्रका ३ हजार ४ सय १३ घरधुरी प्रभावित भएका छन् ।

सोमबार रातिदेखिको निरन्तर वर्षाका कारण नदीहरूमा आएको बाढी बस्तीमा पसेपछि ती परिवार प्रभावित भएका हुन् । बाढी र डुबानका कारण धनगढी उपमहानगरपालिकामा ४३, गोदावरी नगरपालिकामा ७, कैलारी गाउँपालिकामा १५५, भजनी नगरपालिकामा २ हजार ३४२, जानकी गाउँपालिका २७५, टीकापुर नगरपालिकामा ३८१ र जोशीपुर गाउँपालिकामा २१० घरपरिवार प्रभावित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।

प्रभावित परिवारमध्ये अति जोखिममा रहेका घरपरिवारलाई उद्धार गरि सुरक्षित स्थानमा सारिएको उहाँले बताउनुभयो । बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि बोटसहित सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ ।

बाढी प्रभावित परिवार हुलाकी राजमार्ग तथा विद्यालयमा बसिरहेका छन् । लगातारको वर्षाका कारण कैलालीका काडा, पथरैया, मोहना, खुटिया, कान्द्रालगायतका नदीमा निरन्तर जल सतह बढ्दै गएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button