तपाईँ सुन्दै हुनुहुन्छः

कलाको माध्यमबाट दुई भूगोल र समुदायलाई जोड्न सकिन्छ : अध्यक्ष तिमिल्सिना 

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले कलाको माध्यमबाट दुई भूगोल र समुदायलाई जोड्न सकिने बताउनुभएको छ । 

नेपाल सेन्टर इन्टरनेशनलले आयोजना गरेको क्रस कन्ट्री आर्ट एक्जिबीसनको काठमाडौँमा आज उद्घाटन  गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले कला र साहित्यले इतिहासदेखि वर्तमानसम्म नै फरक भूगोल र समुदायलाई जोड्दै आएको बताउनुभयो ।

कला प्रदर्शनीमा राखिएका कलाकृतिहरू साँच्चिकै सुन्दर र जीवन्त रहेको चर्चा गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले देश र समाजको विविधता अनुसार नै कलाकृतिमा पनि विविधता छ भन्नुभयो । 

एक देशले अर्को देशलाई, एक जातिले वा समुदायले अर्को जाति वा समुदायलाई बुझ्न र बुझाउन तथा इतिहासलाई वर्तमानसँग सामिप्यता गराउन पनि कला प्रदर्शनीको महत्त्व छ भन्नुहुँदै उहाँले जनता–जनताको बीचमा सामिप्यता बढाउन र आपसी सम्बन्ध बिस्तार गर्न पनि प्रदर्शनीले सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । 

नेपाल सेन्टर इन्टरनेशनलका संस्थापक निर्मल कुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा आर्ट्स फर पिपल पोर्चुगलकी प्रमुख अन्ना अन्टुनेस, पोर्चुगलका लागि अवैतनिक राजदूत राजेन्द्र खेतान, नेपाल–जर्मन चेम्बर अफ कर्मसका सन्तोष कुँवर लगायतले कला प्रदर्शनीका बारेमा धारणा राख्नुभएको थियो । 

कार्यक्रममा नेपाल, पोर्चुगल, अर्जेन्टिना, बङ्गलादेश, पेरु र स्पेन गरि ६ देशका ११ जना कलाकारले तयार पारेका कलाकृतिहरू प्रदर्शनीमा राखिएको छ । 

प्रदर्शनी हुकुम दरबार कमलपोखरीमा ३ दिनसम्म चल्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button