तपाईँ सुन्दै हुनुहुन्छः

कारागारमा कैदीको मृत्युबारे छानबिन गर्न समिति गठन

किमाथाङ्का । जिल्ला कारागार सङ्खुवासभामा दुई जना कैदीबन्दीको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । 

सो घटनाको छानबिन गर्न सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो । 

यहाँको जिल्ला कारागारमा रहेका दुई बन्दीको आज बिहान मृत्यु भएको थियो । 

मृत्यु हुनेमा मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षीय आकास बलामी रहेका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो । 

गए राति १ बजे कारागारको चर्पीबाट भाग्ने क्रममा रहेका उनीहरुलाई कारागार प्रहरीले पक्राउ गरी कारागार प्रशासनलाई बुझाएको डिएसपी गोदारले बताउनुभयो । उनीहरू बिहान ४ बजे कारागारभित्रै अचेत अवस्थामा फेला परेपछि उपचारका लागि जिल्ला अस्तालमा पुर्‍याइएको र सोही अस्पतालमा उनीहरूको मृत्यु भएको जेलर राजेन्द्र घिमिरेले बताउनुभयो । 

बलात्कार मुद्दामा कैद सजाय भुक्तान गरिरहेका तोलाङ्गी र चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका बलामी कारागारबाट भाग्ने प्रयास गरेका थिए । यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा जिल्ला सुरक्षा समितिको बैठक बसी छानबिन समिति गठन गरेको हो । 

घटनाको छानबिनका लागि समिति गठन गरिएको र छिट्टै सत्यतथ्य बाहिर आउने प्रजिअ शिवकुमार कार्कीले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button