तपाईँ सुन्दै हुनुहुन्छः

नागरिकता नियमावलीको मस्यौदा अन्तिम चरणमा पुगेको छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकता ऐन कार्यान्वयनका लागि आवश्यक नियमावलीको ड्राफ्ट तयार पार्ने काम अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।

ललितपुरमा आज आयोजित नागरिकता ऐनको कार्यान्वयन अवस्था सम्बन्धी सञ्चारकर्मीहरूसँगको छलफल कार्यक्रममा गृहमन्त्री श्रेष्ठले नागरिकता ऐनको नियमावलीको मस्यौदा तयार भएको र अव छिटै मन्त्रिपरिषद्मा लैजाने बताउनुभयो ।

मन्त्री श्रेष्ठले नागरिकता पाउने नेपालीहरूले नागरिकता नपाउँदा परेको अप्ठ्यारोलाई सम्बोधन गर्नका लागि नै नागरिकता ऐन आएको र त्यसमा भएका समस्या हल गर्ने गरी नियमावली ल्याउने तयारी भएको बताउनुभयो ।

विगतमा देखिएका नागरिकता सम्बन्धी समस्या हल गर्ने गरी नागरिकता ऐन आएको भन्दै मन्त्री श्रेष्ठले नियमावली आएपछि सर्वोच्चको पूर्ण पाठ पर्खिरहनु नपर्ने पनि जानकारी दिनुभयो ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराइले नागरिकतामा देखिएका समस्या हटाउन कानुन संशोधनका साथै व्यवहारमा सुधार गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

उपसचिव एवं नागरिकता शाखा प्रमुख विष्णुबहादुर खड्काले बैङ्कमा खाता खोल्न र लोकसेवाको फारम भर्नका लागि हाल तीन पुस्ते विवरण चाहिने अवस्था रहेकामा अङ्गीकृत नागरिकता लिएकाहरूको हकमा भने तीन पुस्ते नचाहिने व्यवस्था गर्न गृहमन्त्रालयले सम्बन्धित निकायमा पत्राचार गरेर अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा सञ्चारकर्मीहरूले आमाको नामबाट नागरिकता पाउन अझै समस्या रहेको, सडक बालबालिका, तेस्रो लिंङ्गीहरुले नागरिकता लिन झन्झटिलो भएको र नागरिकता पाउनेहरूका लागि पनि टोकनका आधारमा लामो समयसम्म कुराई राख्ने जस्ता समस्याको अन्त्य हुनुपर्ने धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button